क्रूर शिक्षक : बिद्यालय नआएपछि घरमै गएर विद्यार्थीलाई लात्ती र लठ्ठीले निर्घात कुटपिट

न्यूज डेस्क     २०८० मंसिर २०, बुधबार २१:५६ बजे मा प्रकासित


जनकपुरधाम । पश्चिम नवलपरासीको एक निजी विद्यालयका शिक्षकले एक छात्रालाई विद्यालय नआएको भन्दै घरमै गएर निर्घात कुटपिट गरेका छन् । सरावल गाउँपालिका वडा नम्बर ७ स्थित बर्दघाट कालिका इंग्लिस स्कूलमा अध्ययनरत ९ वर्षीया बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले बुधवार कुटपिट गरेका हुन् ।

कक्षा– १ मा अध्ययनरत कञ्चना राजभरलाई यादवले लठ्ठीले पिटेर घाइते बनाएका छन् । बालिकाको शरीरभरी नीलडाम बसेको छ ।

 

उक्त घटनापछि आक्रोशित भएका स्थानीयले विद्यालयमा तालाबन्दी गरेको वडा नम्बर ७ का वडाध्यक्ष हायात खाँ धुनियाँले बताए ।

शिक्षक यादवले पटक–पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दै आएको भन्दै उनलाई विद्यालयबाट तुरुन्त बर्खास्त र कानूनी कारबाही गर्न अभिभावकले माग गरेका छन् ।

‘शिक्षक यादवले मेरी छोरीलाई विद्यालय नआएको भन्दै घरमै आएर कुटपिट गरे । विद्यालय गएपछि पनि उस्तै पिटे,’ कञ्चनाकी आमा गञ्जला राजभरले भनिन् ।

यसैबीच, पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले कुटपिट गर्नेविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

ती बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षक भने हाल फरार रहेका छन् ।

प्रतिक्रिया





Top