अनिल बनिया, नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले गाउँपालिकाको क्रियाकलाप सन्तोषजनक नभएको भन्दै विभिन्न ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी,लोसपा, राप्रपा लगायतका दलहरुले आज गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापनपत्रमा गाउँपालिकाको गाडि दुरुपयोग भईरहेको,कर्मचारी नियुक्त गर्दा स्थानीयलाई प्राथमिकता नदिएको,अस्पताल निर्माणमा ढिलासुस्ती गरिएको, ठेक्कामा भएका कामहरु गुणस्तरीय नभएको, बाढीडुबान क्षेत्रको समस्या समाधानका लागि पहल नगरिएको लगायतका विषयमा पालिकालाई सचेत गराईएको विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले जानकारी दिएका छन् ।
यस्तै गाउँपालिकामा ईन्धनको दुरुपयोग भएको,पालिका भित्र रहेका खानेपानी आयोजनाहरु सञ्चालनमा ध्यान नदिईएको,विद्यालयमा अनावश्यक शिक्षक सरुवा गरि राजनीति गरिएको,जनप्रतिनिधि तथा कर्मचारी भ्रष्टाचारमा लिप्त रहेको,खेलकुद प्रतियोगितामा अनियमितता गरिएको लगायतका आरोप लगाईएको छ ।
गाउँपालिकाले आगामी दिनमा यस किसिमका क्रियाकलापलाई नसच्चाए प्रतिवादमा उत्रने दलहरुले चेतावनी दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले दलहरुले ध्यानाकर्षण गराएको बुँदाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । समृद्ध सरावल बनाउन गाउँपालिकाले आवधिक योजना बनाएर सोही योजना बमोजिम अघि बढिरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
अस्पताल निर्माणको लागि पन्ध्र लाख बजेट विनियोजन गरि डिपिआर निर्माण र माटो परीक्षण गर्नको लागि जिम्मेवारी दिईसकेको र काम अघि बढीसकेको बताउनुभयो । खानेपानी आयोजनाहरु प्रदेश सरकारले हेरिरहेकोले अनुगमन र छिटो सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको र आयोजनाहरुलाई पालिकाबाट पनि केही बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
उहाँले आगामी दिनमा पनि पालिकाका कमीकमजोरी औँल्याएर सचेत गराउन आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया