महोत्तरी। महोत्तरीका नाकाबाट केही दिन यता ठूलो तस्करी धन्दा चलिरहेको छ । लसुन तस्करीमा संलग्न कारोवारीहरूले स्थानीय नाकाका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर ठूलो मात्रामा लसुनको तस्करी धन्दा चलाई रहेका छन् । पहिले वथनाहा क्षेत्रबाट लसुन तस्करी हुदै आएकोमा अहिले पर्सापतेली नाकाबाट ठूलो मात्रामा लसुनको तस्करी चलिरहेको छ । तस्करीको सबै सेटिङ मिलाउने , नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाउने र अन्य कारोवारीहरूको समेत मिलाउने काम रामकृपालले गर्दै आइरहेका छन् ।
अहिले महोत्तरी जिल्लामा लसुनको तस्करी गर्ने ठूलो कारोवारी नै रामकृपाल हुन् । उनले बहेडाको पेट्रोलपम्पसंगै लसुनको गोदाम राखेका छन् । सोही पेट्रोलपम्पमा गाडी लगेर लसुन लोड गरि जलेश्वर हुदै पर्सापतेली नाकाबाट भारत तर्फ तस्करी हुदै आएको छ । केही दिन अघि लसुन लोड गरेको गाडी भारततर्फ जान लाग्दा प्रहरी चौकी पर्सापतेलीको डियुटीमा रहेका प्रहरीले रोकेका थिए । पछि जिल्ला प्रहरी कार्यालयबाट चौकीका इन्चार्ज असईलाई ठूलो दबाब दिएर तस्करी गराए । त्यसपछि ती असईले पनि बाध्य भएर खानतलासी गर्न छोडे । भारतीय नम्बर प्लेटका गाडी सोझै पेट्रोलपम्पमा ल्याएर लसुन लोड गरेर निर्वाध रूपमा तस्करी गराउने काम दिनहुँ भैरहेको छ ।
भारतीय सीमावर्ती नाकाबाट भइरहेको लसुन तस्करी रोकिन सकेको छैन । नेपालबाट भारततर्फ दैनिकजसो चाइनिज लसुनको तस्करी हुने गरेको हो । भारतमा महंगोमा बिक्री हुने भएकाले नेपालबाट लसुनको तस्करी बढेको हो । सीमावर्ती क्षेत्रको दसगजा नजिकमै रहने गरी कारोबारीहरूले फर्म दर्ता गर्ने गरेका छन् । फर्मका नाउँमा ठूलै गोदाम बनाएर राखेका उनीहरूले लसुनलगायतका सामान राख्ने गरेका हुन् । नेपालबाट खरिद गरेर ल्याउने अधिकांश लसुनको बिल नै बनाएर राख्ने गरिएको छ ।
जसका कारण तस्करी गर्ने उद्देश्यले ल्याएका सामानलाई समेत बिल बिजक भएका कारण पक्राउ गर्न कानुनी झन्झट हुँदा समस्या भएको सुरक्षा अधिकारीको भनाइ छ । त्यसरी गोदाममा राखेका लसुनलाई कारोबारीहरूले रातको समयमा दसगजा पार गराएर भारततर्फ पठाउने पठाउने गरेका छन्। कहिले काही जाने राजस्व कार्यालयको टोलीले समेत बिल बिजक भएको बहानामा छाड्ने तर,खरिद बिक्री कहाँ गरेको हो भन्नेमा कागज पत्र हेर्ने नगरेका कारण पनि तस्करी कार्यले प्रोत्साहन पाएको बताइएको छ । ‘ आएको सामान कुन ठाउँमा गयो भनेर काटिएको बिल र खरिद बिक्री खाता हेरे प्रष्ट हुन्छ । फर्म राख्ने अनुमति दिँदा कम्तीमा दसगजाबाट कम्तीमा ५ सय मिटरदेखि १ किलोमिटर पर राख्न दिने व्यवस्था गर्न सके अवैध रुपमा जान सक्ने सामान बरामद गर्न सहज हुने छ ।
भारतले तेस्रो मुलुकबाट लसुन आयातमा प्रतिबन्ध लगाएको छ । जसका कारण लसुनको भाउ आकाशिएपछि नेपाली तस्करसँग मिलेर त्यहाँका व्यापारीले अवैध ढंगबाट संगठित कारोबार गरिरहेका छन् ।नेपालमा चिनियाँ लसुनको भाउ प्रतिकिलो २७० रुपैयाँ छ । भारतीय लसुन ४५० रुपैयाँ किलोसम्म पर्छ । किलोमै १३० रुपैयाँ नाफा हुने भएपछि सीमा क्षेत्रमा लसुन तस्करहरुको सरगर्मी बढेको हो ।
चालू आवको ५ महीनामै ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको ४० हजार टन लसुन आयात भएको विभागको तथ्यांक छ । मूल्यको हिसाबले यो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा ७९० प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा चीनबाट ६० करोड २१ लाख रुपैयाँको ४ हजार ६०० मेट्रिक टन लसुन आयात भएको थियो । तथ्यांकअनुसार नेपालमा करीब साढे ९ हजार हेक्टर जमीनमा लसुन खेती गरिन्छ । आव २०७९÷८० मा नेपालमा ९ हजार ५७० हेक्टर जमीनमा ७३ हजार ५७६ मेट्रिक टन लसुन उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । नेपाली लसुनको उत्पादन नहुने याममा चिनियाँ लसुन आयात हुने गरेको छ । अहिले चीनबाट वैध बाटोबाट लसुन आयात हुनु र अवैध बाटोबाट तस्करी भएर भारतमा पुग्नु हो । चीनबाट लसुन आयात गर्दा डलर खर्च गर्नुपर्छ भने भारतमा निर्यात हुँदा भारतीय मुद्रामा गर्नुपर्छ, त्यो पनि बैंकिङ प्रणालीबाहिरबाट । यसरी औपचारिक अर्थतन्त्र अनौपचारिक बन्नु चिन्ताको विषय हो ।
भारतले सन् २०१४ देखि लसुन आयातमा प्रतिबन्ध लगाएको छ । तर, तस्करीको बाटोबाट भारतमा चिनियाँ लसुन गइरहेको छ । नेपाल भारत व्यापार सन्धि र साउथ एशियन फ्री ट्रेड एरिया (साफ्टा)को प्रावधानअनुसार नेपाली कृषि उपज भारतमा शून्य भन्सारमा निर्यात गर्न पाइन्छ । तेस्रो मुलुकबाट आयात गरिएको यस्ता वस्तुमा ३० प्रतिशत मूल्य अभिवृद्धि गरी निर्यात गर्न सकिन्छ । यही प्रावधानअनुसार विगतमा नेपालबाट भारतमा पाम आयलको अत्यधिक निर्यात भएको थियो । तर, अहिले चीनबाट आयात गरिएको लसुन भारतमा तस्करी भएर गइरहेको भन्सार विभागको भनाइ छ ।
प्रतिक्रिया