अमित ठाकुर,रौतहट । कार्तिक २४।रौतहटको सदरमुकाम गौरको बरहवा खोलामा एक युवकको शव फेला परेको हो। गौर नगरपालिका वडा नंबर ५ स्थित रहेको बरहवा खोलामा हराईएको युवकको शव फेला परेको प्रहरी उपरीक्षक रविन कार्कीले जनाएको हो ।
बरहवा खोलामा फेला परेको शव चपुर नगरपालिका वडा नंबर ६ का २० बर्षीय सुनिल कुमार कहारको रहेको प्रहरीले पुष्टि गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, शव करिब ७ बजे स्थानीयले खोलामा घोप्टो अवस्थामा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी निरीक्षक रुद्रराज कडेलको नेतृत्वमा टोली पुगेको थियो। प्रहरीले शव मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ ।
सुनिल गत कार्तिक २२ गतेदेखि नै हराइरहेका थिए। उनका आमाले यस सम्बन्धमा इलाका प्रहरी कार्यालय हराएको निवेदन समेत दिएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया