जनकपुर : होटल तथा गेष्ट हाउसको नाममा यौन विकृति रोक्न नगरपालिकाले कडा कदम चाल्ने

न्यूज डेस्क     २०८० पुष २७, शुक्रबार २०:३५ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाले होटल तथा गेष्ट हाउसको आडमा हुने गरेको यौन विकृति रोक्न कडा कदम चाल्ने भएको छ ।

 

नगरस्तरीय सुरक्षा संयन्त्रको बसेको बैठकले होटल, गेष्टहाउस र डान्सबारको आडमा अवैध यौनजन्य गतिविधिलाई नियन्त्रण गर्ने निर्णय भएको मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले बताए ।

होटलमा महिला कामदार राख्ने तथा गेष्ट हाउसमा कोठा उपलब्ध गराएर यौन व्यवसाय सञ्चालन हुने गरेको जनगुनासो बढेपछि नगरपालिकाले त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्न लागेको हो ।

उनले अनुगमन गरी विकृतिजन्य क्रियाकलाप सञ्चालनमा सक्रिय रहेको पाइएमा त्यस्ता होटल तथा गेष्ट हाउसलाई कानुनअनुसारको कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको उनले जानकारी दिए ।

उनले होटल खोलेर यौन विकृति फैलाउन व्यवसायीसँगै विकृती फैलाउने गरी होटललाई भाडा दिने घरधनीलाई पनि कारवाही गरिने बताए ।

नगर क्षेत्रमा यौन विकृति बढेको भन्दै त्यसलाई निर्मुल पार्न स्थानीयले बुधबार नगरप्रमुख, इलाका प्रहरी कार्यालय र वडा कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । यौन विकृतिले गाउँ समाजमा नराम्रो असर परेकाले तत्कालै बन्द गराउन स्थानीयले माग गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया





Top