जनकपुरधाम । यही बैशाख ३० गते हुने गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले मदिरा निषेध गर्नुका साथै भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै मदिरा निषेध र भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
बैशाख ३० गते शुक्रबारका दिन हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निश्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्था अनुसार यस्तो आदेश जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
बैशाख २७ गते मंगलबार राति १२ः०० बजेदेखि मतदानको कार्य सम्पन्न नभए सम्मका लागि धनुषा जिल्ला भरी सबै प्रकारका मादक पदार्थ (मदिरा) को विक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै गते राती १२ः०० बजेदेखि बैशाख ३० गते शुक्रबार सम्मलाई यस जिल्लाका भारतीय सीमासँग जोडिएका सीमानाकाहरुसमेत पूर्णत बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
२९ गते राती १२ः०० बजेदेखि ३० गतेका दिन मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी टयाङ्कर, दमकल, दूरसञ्चार सेवा÷शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सावरी साधन र अनुमति प्राप्त सवारी साधन बाहेकका सावरी साधन सञ्चालनमा निषेध गरिएको उनले जानकारी दिए ।
सो आदेश बमोजिम गर्न गराउन हुन सम्बन्धित सबैमा अनुरोध गर्दै प्रस्तुत आदेशको बर्खिलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
तपाईको प्रतिक्रिया !