जनकपुरधाम । मानव बेचबिखन, जबरजस्ती करणी र यौनजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम–२३ लादो बेलाका करिब ४५ वर्षीय अजिज राइन रहेका पक्राउ परेका छन् ।
राइनले जनकपुरधाम–४ विद्यापति (मुरलि) चोकमा मधेश प्रदेश गेष्ट हाउस नामक होटल सञ्चालन गर्दै आएका थिए । प्रहरीले होटललाई तत्काल सिलबन्दी गरी अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार राइनविरुद्ध उजुरी दर्ता भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
‘उनीविरुद्ध मानव बेचबिखन र यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएका छन् । हाल अनुसन्धान प्रारम्भिक चरणमा छ । आवश्यक प्रमाण संकलनको काम भइरहेको छ,’ डीएसपी सिंहले भने ।
प्रहरीका अनुसार राइनविरुद्ध पीडित परिवारका साथै मानव अधिकारकर्मीहरूले पनि उजुरी दिएका थिए । उजुरीकर्ताहरूले आर्थिक प्रलोभन देखाएर महिलाहरूलाई यौन क्रियाकलापमा संलग्न गराउने, जबरजस्ती करणी गर्ने जस्ता आरोप लगाएका छन् । प्रहरीले यस्ता उजुरीलाई गम्भीर रूपमा लिएर अनुसन्धानलाई द्रुत गतिमा अघि बढाइरहेको जनाएको छ ।
अजिज राइनविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी पुगेको छ । आयोगले यस विषयलाई संवेदनशील मानेर प्रारम्भिक तथ्य–जाँच सुरु गरिसकेको छ । आयोगले प्रहरीसँग नजिकै समन्वय गर्दै पीडितको पहिचान र संरक्षणमा विशेष ध्यान दिइरहेको छ ।
विद्यापति चोकमा रहेको होटल वरिपरिका स्थानीयवासीले पनि प्रहरीको कारबाहीलाई स्वागत गरेका छन् । उनीहरूले लामो समयदेखि होटलमा सामान्य गतिविधि भन्दा फरक प्रकृतिका हिँडचाल देखिने भन्दै प्रहरीलाई ध्यानाकर्षण गराएका थिए ।








प्रतिक्रिया