सप्तकोशी नदिमा बढदै पानीको बहाव यो वर्षकै उच्च, ३० ढोका खोलियो

मधेशपाटी अनलाइन     २०७८ असार १९, शनिबार १२:२१ बजे मा प्रकासित


राजविराज : विगत केही दिनयता लगातारको वर्षाका कारण सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च भएको छ ।
आज शनिबार बिहान ९ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा दुई लाख ३१ हजार ५५१ क्युसेक पानीको वहाव छ । यस अघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको वहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्तण कक्षले जनाएको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोशीको बहाव बढेको हो ।
बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा बिहान भने बहाव एक्कासी बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसी नदीमा बहाव बढ्नुको मुख्य कारण पहाडी क्षेत्रमा भइरहेको ठूलो वर्षा हो ।
बहाव बढेपछि आज बिहानसम्ममा कोसी ब्यारेजका २९ वटा ढोका खुला गरिएको छ । शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खुला गरिएको थियो। कोशी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।

प्रतिक्रिया





Top