काठमाडौं ः प्रधानमन्त्री केपी ओलीले अब जिल्ला जिल्लामा कोभिडविरूद्ध भ्याक्सिनको अभियान नै चलाइने बताएका छन्।
त्रिशुली-३ बीको प्रसारण लाइन र सबस्टेसनको शनिबार भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समूह तोकेर सबै जनसंख्यामा छोटो अवधिमै खोप पुर्याइने बताए।
उनले भ्याक्सिनका लागि विभिन्न मित्र राष्ट्रहरूसँग कुराकानी र संवाद अघि बढाइएको बताए।
‘अब लगातार भ्याक्सिन आउँछ, भोलिपर्सीदेखि नै खोपको क्याम्पेन सुरू हुन्छ,’ ओलीले भने।
उनले एक-दुई दिन, सात दिन वा पन्ध्र दिनभित्रै खोप लगाइसक्न सम्भव नरहेकाले समूह-समूह तोकेर कहाँनेर बढी प्रभाव छ त्यहाँ अभियान चलाइने बताए।
‘एकै दिन, दुई दिन, सात दिन पन्ध्र दिनभित्र सकिँदैन। समूह तोकेर कहाँनेर बढी छ त्यहाँबाट सुरू गरेर सम्पूर्ण जनसंख्यालाई छोटो अवधिमा खोप उपलब्ध गराउँछौं,’ ओलीले भने।
उनले कोभिडका कारण अन्य देशभन्दा नेपाल कम नै प्रभावित रहेको र आवश्यक सतर्कताले जोखिम कम भएको बताए।
उनले भने, ‘हामी अनुकूल स्थितिमा रहेका छौं। भ्याक्सिनको कुरा अघि बढेपछि सुरक्षित हुन्छौं।’
ओलीले हाल देशभरि वर्षा भइरहेकाले क्षति भोग्नु परेको भन्दै राहत र उद्धारमा सरकारले ध्यान दिइरहेको बताए।
प्रतिक्रिया