मनोज यादव, सार्लही । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको संयोजकत्वमा राष्ट्रीय जनगणना र मदरसाको अवस्था बुझ्नका लागि सर्लाहीको सदरमुकाम मलंगवामा मुस्लिम धर्मगुरुहरु, मुस्लिम अगुवा,जनप्रतिनिधि लगायत मुस्लिम संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसेको छ ।
््मलंगवा नगरपालिकाका उपमेयर शान्ती सबनम मिकरानीको अध्यक्षतामा बसेको बैठकमा आयोगका अध्यक्ष अन्सारीले राष्ट्रीय जनगणना २०७८ टोलीमा मुस्लिम समुदायतर्फ बाट जनशक्ति परिचालन गर्न तथा मदरसाको बिषयमा राय सुझाव लिएका थिए । राष्ट्रिय जनगणना २०७८ मा मुस्लिम समुदायको सही तथ्यांक प्राप्त गर्नका लागि र मदरसाहरुको अवस्था बुझ्नका लागि अभ्यास सुरु गर्ने उहाँले बताउनुभयो ।
वि.स. २०७८ सालको जनगणनामा मुस्लिम समुदायको मदरसा र शैक्षिक अवस्था, आर्थिक अवस्था ,सामाजिक अवस्था लगायत हरेक दृष्टिकोणले समेट्न बैठकमा कुरा चलेको मलंगवा नगरपालिकाकी उपमेयर मिकरानीले बताउनुभयो । बैठकमा उपस्थित मुस्लिम अगुवाहरुले राष्ट्रिय जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिएका थिए ।
शुक्रवार सर्लाही आइपुग्नु भएका अध्यक्ष अन्सारीलाई उपमेयर मिकरानीले स्वागत गर्नुभएको थियो । मलंगवाको बसाइमा अंसारीले विभिन्न मदरसाहरुको भ्रमण गर्नुको साथै अवस्थाको बारेमा सम्बन्धित ब्यक्तिहरु सँग जानकारी लिएको मुस्लिम युवा नेता समीर मिकरानीले जानकारी दिएको छ ।
वि.स. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा मुस्लिमहरुको जनसंख्या कुल १ करोड १६ लाख २ हजार ३७० रहेको छ ।जसमध्ये तराईमा मात्र कुल १ करोड १० लाख ५ हजार ५३३ रहेको छ भने शहरी क्षेत्रमा १७ लाख ५ हजार ५२६ तथा ग्रामीण क्षेत्रमा ९ लाख ८६ हजार ८४४ रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया