सम्सी (महोत्तरी)- नेकपा माओवादीले कार्वाही गरेर पदमुक्त भएका सम्सी गाउँपालिका अध्यक्ष शेष फारुकलाई सर्वोच्च अदालतको आदेशमा पुन: अध्यक्ष पदमा पुनरवहाली भएपछि अध्यक्ष फारुक आज तामझाम सहित कार्यालयमा पुनः हाजिर भएका छन् ।
आइतबार सम्सी बजारबाट आफ्ना समर्थक सहित शक्ति प्रदर्शन गर्दै अध्यक्ष फारुक गाउँपालिका कार्यालयमा हाजिर भएका हुन् ।
सर्वोच्चको अन्तरिम आदेशमा पदमा पुनरबहाली भएपछि खुसियाली मनाउँदै कार्यालय पुगेका छन् ।
एमालेको ओली पक्षमा लागेको भन्दै नेकपा माओवादी केन्द्रको कारबाहीमा निर्वाचन आयोगले गएको असार ११ गते उनलालाई पद मुक्त गरेको थियो ।
पदमुक्त भएका फारुक शुक्रबार सर्वोच्च अदालतको अन्तरिम आदेशमा अध्यक्ष पदमा पुनरवहाली भएका छन् ।
उनले दायर गरेको रिटमा निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।
आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुख र अध्यक्ष भएको र उनले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारबाही एवं अधिकारमा अपूर्णीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न भनिएको छ।
नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा सम्सी गाउँपालिका अध्यक्ष फारुक सहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो।
सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएका सूचना निकालेको थियो। पदमुक्त हुनु अघि फारुकले कार्यपालिका सदस्य सकिला खातुनलाई कार्यबाहक गाउँपालिका अध्यक्षको जिम्मेबारी दिएका थिए ।
प्रतिक्रिया