प्रभु साहले भने न्यायाधीशले आफूलाई राजा ठाने, देशमा द्वन्द्व निम्त्याए

मधेशपाटी अनलाइन     २०७८ असार २८, सोमबार १९:०० बजे मा प्रकासित


काठमाडौ । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता प्रभु साहले सर्वोच्च अदालतको फैसलाले दलीय शासन प्रणालीको हत्या गरेर देशमा द्वन्द्व निम्त्याएको टिप्पणी गरेका छन् ।

संवैधानिक असफलताले नै न्याय निरुपण गर्ने न्यायाधीशहरूलाई राजाको हैसियतमा पुर्‍याएको साहको भनाइ छ । दलीय अनुशासन वा प्रणालीको वास्ता नगरी मनपरि ढंगले जुनसुकै अस्वभाविक निर्णय गर्ने राजाको विगत रहेको भन्दै साहले आजको निर्णय गर्ने न्यायाधीशले आफूलाई राजा ठानेर फैसला सुनाएको आरोप लगाए ।

संसद पुनस्स्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशबारे प्रतिक्रिया जनाउँदै पूर्वमन्त्री साहले सर्वोच्च अदालतको संसदमा दलीय व्हीप नलाग्ने आदेश यो व्यवस्थाकै विडम्बना भएको उनले बताएका छन् ।

दलीय शासन व्यवस्था प्रणालीमा दलीय अनुशासन लागू हुँदैन भन्ने निर्णय गरेर सर्वोच्च अदालतले दलीय प्रणालीको आत्माको हत्या गरेको उनको टिप्पणी छ । पूर्वमन्त्री साहले अदालतको फैसलाले दलीय प्रणालीको खुट्टा भाँचिएको र व्यवस्थालाई नै अपांग बनाइदिएको बताए ।

‘दलीय शाशन प्रणाली वर्तमान व्यवस्थाको आत्मा हो, र दलीय प्रणालीको आत्मा हो दलीय अनुशासन । आज सर्वोच्च अदालतले दलीय अनुशासन लागू हुँदैन भन्ने जुन फैसला गरेको छ, यसले दलीय प्रणालीको आत्माको हत्या भएको छ । यसले देशमा द्वन्द्व चर्काउने बाहेक केही गर्न सक्दैन ।’ उनको भनाइ थियो ।

साहले भने, ‘तपाईं हामीले हेरिरहेका छौँ कि जुन ढंगले न्यायालय राजनीतिमाथि हावी भएको छ, यो सबै गलत संवैधानिक प्रावधानकै उपज हो । आजको सर्वोच्च अदालतको फैसलाले वर्तमान व्यवस्था र संविधान असफल भईसक्यो भन्ने पुष्टि गरेको छ ।’ – नेपाल प्रेस

प्रतिक्रिया





Top