पूजारी हत्याकाण्डका मुख्य योजनाकार मानिएका एक जना धरौटीमा रिहा,प्रहरी बेखबर

न्यूज डेस्क     २०७८ श्रावण २७, बुधबार २१:१७ बजे मा प्रकासित


सागर हुमागाईं ,रौतहट । रौतहटको चर्चित पूजारी हत्याकाण्डका मुख्य योजनाकार मानिएका एक जना धरौटीमा रिहा भएका छन् । अघिल्लो वर्ष भदौ ३ गते माधवनारायण नगरपालिका–२, खेसरहिया टोलस्थित हनुमान मन्दिरका ६५ वर्षीय पूजारी श्रीराम साहको हत्या भएको थियो । घटनाका मुख्य योजनाकार मानिएका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष समेत रहेका शेख नरुल्लाहलाई २ लाख रुपैयाँ धरौटीमा छुट्न जिल्ला अदालत गौरले आदेश दिएको छ ।

 

हत्याका आरोपित नरुल्लाहलाई जिल्ला अदालत गौरले हाजिर भएकै दिन बयान लिएर पुर्पक्षको लागि २ लाख धरौटी लिएर छाड्न आदेश गरेको छ । अदालतमा पेश हुँदा वादी प्रतिवादी दुवैको कोरोना परीक्षण रिपोर्ट माग्ने गरिएको छ । म्याद थपका अन्य प्रतिवादीको समेत कोरोना परीक्षण प्रतिवेदन माग्ने जिल्ला अदालत गौरले कोरोना परीक्षण नगरी फरार रहेका नरुल्लाहलाई धरौटी लिएर छाडन आदेश दिनुले अचम्भित बनाएको छ ।

उनी घटनालगतै फरार रहेका थिए । हत्या आरोपित जिल्ला अदालत गौरमा उपस्थित हुँदा प्रहरीलाई समेत जानकारी नगराई अनौठो आदेश भएको खुल्न आएको छ ।

पूजारी श्रीरामको हत्याकाण्डमा प्रहरीले सात जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीमध्ये मुख्य योजनाकार मनिएका वडाध्यक्ष शेख नरुल्लाह भने जिल्ला अदालत गौरमा सुटुक्क हाजिर भएका हुन् । हाजिर भएकै दिन आज न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो ।

उनै न्यायधीश मौर्यको इजलासले २०७७ कार्तिक १९ गते सोही घटनाका आरोपी देवाही गोनाही नगरपालिका १ करुनियाका ३६ वर्षीइ रामनरेश राउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई तत्कालप्राप्त प्रमाणहरुबाट प्रतिवादी कसुरदार होइनन् भन्नसक्ने अवस्था नरहेकाले पछि प्रमाण बुझदै जाँदा ठहरेबमोजिम हुनेगरी हाल रामनरेश पटेल र बालकुमार पटेललाई मुलुकी फौजदारी कार्यविधि २०७४, बमोजिम पुर्पक्षको लागि थुनामा राख्ने आदेश गर्नुभएको थियो ।

पुर्पक्षका लागि कारागार चलान भएका पटेलद्वयले प्रहरीसमक्ष शेख नुरुल्लाहकै योजनाअनुसार बन्दुक र गोली मगाएर हत्या गरेको बयान दिएका थिए । उनीसहित मस्ताज देवान, रामप्रवेश राउतकुर्मी, मोहम्मद कासिम र राजेन्द्रराउत कुर्मीको समेत संलग्नता रहेको भन्दै प्रहरीले प्रतिवादी बनाएको थियो । हत्याकाण्डमा संलग्न चार जना प्रतिवादी अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया





Top