मेरो जिन्दगीका पाना

न्यूज डेस्क     २०७८ श्रावण २८, बिहीबार ०६:४० बजे मा प्रकासित


श्रुति घिमिरे । सबैले दाइजो हेर्दै थिए, म मनमनै बाबा-आमालाई लागेको ऋण जोड्दै थिएँ ।
माघको महिना थियो, भर्खरै विहे भएको, सबै नयाँ नयाँ थियो बाबालाई औंठी दिंदै ढोगें, ममी सानैमा छोडेर जानु भएको रहेछ ।

सबै दाइजो हेर्दै थिए म मनमनै कति ऋण लाग्यो जोड्दै थिएँ ।
कहिल्यै नटेकेको घरलाई आफ्नो घर अनि आफू जन्मेर फुलबारी सजाएको घरलाई माइती भन्नु पर्ने ।
न जन्माएको, न हुर्काएको, न पढाएको, न त्याग न तपस्या सहजै आमा बाबा स्वीकार गर्नु पर्ने ।

आफ्नै मुटुको टुक्रालाई पराई सामु सुम्पिदिंदा संस्कारको परिभाषा घोटाउनु पर्ने । कहिल्यै नचिनेको अन्जान व्यक्तिलाई भगवान मानी पाउँ पुज्नु पर्ने ।

जीवनका सारा अतीतलाई तिलाञ्जलि दिंदै नयाँ संसार सजाउनु पर्ने । बेस्सरी हाँस्नु भएन, धेरै बेर सुत्नु भएन, छिटो छिटो बोल्नु भएन, हतार हतार हिँड्नु भएन, रिस कहिल्यै अनुहारमा देखिनु भएन । न कहिले थाक्न भयो, विरामी कहिल्यै हुनु भएन, न कहिल्यै रुन नै । छोटा लुगा लगाउनु भएन, बुढासँग धेरै मिल्न भएन, छोरी मात्र जन्माएर भएन ।

सबैको खुट्टा ढोगिदिन पर्यो, आफू तल परेर अरु माथि राखिदिनु पर्यो । सिन्दूर पोते चुराले ढाकिनु पर्यो । साथै जागिर खाएर बुढ़ा सोफामा बुढ़ी चुल्हामा पस्नु पर्यो ।

सबै आफन्तको आँखाको नानी बन्न पर्यो, आफ्नै बाबा आमालाई भेट्न अनुमति माग्न पर्यो । कति सहजै भन्छौ है तिमी बुहारी हौ । कसैको चित्त नदुखाऊ अनि बुहारी तिम्रो पनि मन छ, चित्त दुख्छ कि भनि कसैले सोध्दैन । बुहारी हुँदै गर्दा मैले त्यागेका मेरा खुशीका मूल्य कसैले सोध्यौ ?

कति सहजै भन्छौ बुहारी हौ, धेरै कुरा सहनु पर्छ भनेर ?

प्रतिक्रिया





Top