हत्या आरोपमा कार्यपालिका सदस्य श्याम राउत पक्राउ, मेयर-उपमेयर फरार

न्यूज डेस्क     २०७८ श्रावण २८, बिहीबार २१:१० बजे मा प्रकासित


न्युजडेस्क/जनकपुरधाम, साउन २८
धनुषाको हंसपुर नगरपालिका सार्ने विवादको क्रममा झडपमा परी एक ५५ बृद्धको तपेश्वर मण्डलको मृत्यु भएको थियो । उक्त घटनामा हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत पक्राउ परेका छन् ।

उनीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी समेत जारी गरेको थियो । उनलाई प्रहरीले केही दिन अगाडि नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार राउतलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।

घटनाका मुख्य आरोपी मेयर र उपमेयर र वडाध्यक्षहरूसहित ६ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ । २०७६ साउन २१ गते नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको थियो ।

झडपमा घाइते भएका स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा गत भदौ १८ गते मृत्यु भएको थियो ।

सो घटनामा पीडित परिवारले मेयरसहित वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, कार्यापालिका सदस्य श्याम राउत, वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध किटानी जाहेरी दिएका थिए ।

उपमेयर झा, वडा नम्बर २ का वडाध्यक्ष उदय साह, वडा नम्बर ४ का वडाध्यक्ष किशोरी यादवविरुद्ध समेत ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भएको थियो ।

मेयर मण्डलमाथि मृतकका छोराले र उपमेयर झाविरुद्ध मेयर मण्डलका समर्थकले उजुरी दिएका थिए । प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ । फरार व्यक्तिहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सेतोपाटीबाट

प्रतिक्रिया





Top