सर्लाही कांग्रेस विवाद : अमरेशविरुद्ध खनिए प्रदेश २ का मन्त्री सिंह

मधेशपाटी अनलाइन     २०७८ आश्विन ६, बुधबार २३:१८ बजे मा प्रकासित



काठमाडौं । १४ औँ महाधिवेशन नजिकिँदै जाँदा सर्लाहीमा नेपाली कांग्रेसको आन्तरिक विवाद थप चुलिन थालेको छ।

 

जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारी प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहविरूद्ध उभिन थालेपछि सर्लाहीमा विवाद चर्किएको हो।

सर्लाहीबाट नेपाली कांग्रेसबाट निर्वाचित भएर प्रदेश २ सरकारमा मन्त्री रहेका वीरेन्द्रप्रसाद सिंहमाथि केन्द्रीय पार्टी कार्यालय सानेपामा मंगलबार दुर्व्यवहार भएपछि थप विवाद बढ्ने संकेत देखिएको छ।

पार्टी कार्यालयमा पुगेका बेला संघीय सांसद अमरेशनिकट एक वडाध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको मन्त्री सिंहको आरोप छ। दुर्व्यवहार भएपछि आक्रोशमा आएर आफूले अपशब्द प्रयोग गरेको उनले स्वीकार गरेका छन्।

पार्टी कार्यालयमा दुर्व्यवहार भएको भोलिपल्ट बुधबार सर्लाहीबाट काठमाडौं आइपुगेका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै मन्त्री सिंहले नेपाली कांग्रेसमै बसेर पार्टी कमजोर बनाउने काम गरिरहेको अमरेशमाथि आरोप लगाए।

अधिवेशनमा पराजित हुने बुझिसकेपछि अमरेशले उत्छृंखल व्यक्तिलाई आफूमाथि दुर्व्यवहार गर्न लगाएको उनले बताए।

‘कांग्रेस कार्यकर्तालाई दुःख दिने, शीर्ष नेतृत्वबारे गैरजिम्मेवार अभिव्यक्ति दिने, अन्य पार्टीसँग साँठगाँठ गरेर पार्टीलाई कमजोर बनाउने दिशामा अगाडि बढिसकेका छन्,’ उनले भने,‘१४ औँ महाधिवेशनमा कार्यकर्ताले हराउने थाहा पाइसकेपछि हतास भएका छन्।’

शीर्ष नेतृत्वबारे गैरजिम्मेवार अभिव्यक्ति दिने नेता महाधिवेशनबाट बाहिरिने निश्चित रहेको उनले दाबी गरे।

संघीय सांसद अमरेशले विभिन्न बखेडा झिकेर जिल्लामा अधिवेशन हुन नदिने षडयन्त्र गरिरहे पनि उनको त्यो चाहना कुनै हालतमा पूरा नहुने उनले बताए।

‘कहिले धर्ना बसेर, कहिले राजीनामाको नाटक गरेर जिल्लामा अधिवेशन भाँड्ने षडयन्त्र गरिरहेका छन्,’ उनले भने, ‘अधिवेशन जसरी पनि हुन्छ। पार्टीविरोधी गतिविधि गर्ने यसपटक फ्यालिनेछन्।’

प्रतिक्रिया





Top