जनकपुरधाम । धनुषा र सिरहाकोको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुँइचो लागेको छ । धनुषाको सबैला नगरपालिकास्थित कमला नदीमा स्नान र भूत मेला भर्न शुक्रबार बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेका छन्।
कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुँइचो लागेको हो ।
सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नव धाँमीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिइरहेका छन् । कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको छ । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन रहेको छ ।
कतिपयले कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेका र आज बिहानै कमला नदीमा स्नान गरेका श्रद्धालु बताएका छन् । कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी सो नदीमा स्नान गर्नेको सङ्ख्या अत्यधिक रहने गरेका छन् ।
भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूलधाँमीले मन्त्र सिद्धी गरिदिएपछि धाँमी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ । कमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । भारतसहित सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायतका ठाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीड लाग्ने गर्दछ ।
प्रतिक्रिया