धनुषा : अब सिडिओ कार्यालयमा रेकर्ड खोज्ने झन्झट हटेपछि ,पासपोर्टको फाराम स्थगित

मधेशपाटी अनलाइन     २०७८ मंसिर ४, शनिबार ०६:३० बजे मा प्रकासित



जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिसमा ) धनुषाले नागरिकता सम्बन्धी अभिलेख (रेकर्ड) खोज्न झन्झट हुने गरेको गुनासोपछि सहज बनाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रबार एक सूचना जारी गरी नागरिकता बनाउन वा नागरिकताको प्रतिलिपी बनाउको लागि रेकर्ड खोज्नकै लागि एक दिनसम्म लाग्ने गरेको गुनासो बढेको थियो ।

रेकर्ड खोज्नको लागि पर्याप्त कर्मचारी रेकर्ड रुममा नहुँदा प्रतिलिपी बनाउनको लागि पनि कम्तीमा दिनभरि वा दुईदिनसम्म लाग्ने गरेको अवस्थामा कर्मचारी व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले रेकर्ड सम्बन्धी जानकारीको लागि तीन कर्मचारीको नम्बर सार्वजनिक गरेको छ । जसमा प्रशासकीय अधिकृत सहित नासु र कार्यालय सहयोगी पनि रहेका छन् ।

रेकर्ड शाखामा कर्मचारी अभावको कारण नागरिकता बनाउन जाने नागरिकलाई कठिनाईको सामना गर्नुपरेको अवस्थालाई मध्यनजर गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले सो सुविधा थपेका हुन् ।

नागरिकको सेवालाई थप स्तरीय बनाउनको लागि तीन कर्मचारीसँग नागरिकहरुले सीधा सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको सूचनामा उल्लेख गरिएको छ ।

जस अनुसार प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठको मोबाईल नम्बर ९८५४०२५१९३, नायब सुब्बा नरेश कुमार मण्डलको मोबाईल नम्बर ९८४४०३९४०२ नम्बरमा सम्पर्क गर्न सकिने बताईएको छ ।

यसअघि कार्यालय सहयोगी नोत बहादुर श्रेष्ठले सहयोग गर्दै आएकोमा अब उनको मोबाईल नम्बर ९८०१६३४५०१ मा सीधा सम्पर्क गरी सुविधा लिन सकिने जनाइएको छ ।

रेकर्ड शाखामा आफ्नो रेकर्ड खोज्न, परिवाररिक रेकर्ड खोज्नको लागि एक मात्र कर्मचारी हुँदा जिल्लाभरिको भीडलाई थेग्न सक्ने अवस्था थिएनन् । अब तीन कर्मचारी रेकर्ड शाखाको लागि सहयोग गर्ने भएपछि सेवा सुविधामा सहजीकरण हुने विश्वास लिइएको छ ।

पासपोर्टको फाराम स्थगित

यसका साथै, अर्को सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय धनुषाले एमआरपी पासपोर्टको लागि भर्ने आवेदन स्थगित गरिएको जानकारी गराएको छ ।

परराष्ट्र मन्त्रालयको राहदानी विभागबाट ई–पासपोर्ट प्रदान गरिने भएकोले सो कार्यको लागि डाटा माईग्रेसन गर्नुपर्ने भन्दै अर्को सूचना नआएसम्म पासपोर्टको फाराम स्थगित गरिएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट एमआरपी पासपोर्टको लागि भरिने फाराम तत्काल स्थगित गरी अर्को सूचना नआएसम्म फाराम नभर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया





Top