कैलाली । प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष बीपी साहले जनमत पार्टीले पूर्वी मधेश कब्जा गरिसकेको बताउँदै अब थरुहट–थारुवान पनि कब्जा गर्ने दाबी गरेका छन् ।
शनिबार जोशीपुरको रामनगर बञ्जरियामा भएको जनमत पार्टीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै जनमत पार्टीनिकट प्रेस जनमत संघका अध्यक्ष साहले यस्तो दाबी गरेका हुन् ।
नगर अधिवेशनको अवसरमा प्रमुख अतिथि साहले थरुहट–थारुवानमा पनि जनमत पार्टी बलियो भएर आउने बताएका छन् । थारुहरुको पहिचान र अधिकारको लडाईमा अन्य पार्टीभन्दा जनमत पार्टी अगाडि रहेको साहको दाबी छ ।
उनले भने,‘जनमत पार्टीले पूर्वी मधेश कब्जा गरिसकेको छ, अब थरुहट–थारुवान पनि कब्जा गर्नेछ । यहाँको नेतृत्व थारुहरुले नै गर्नेछ। जनमत पार्टीले थारुहरुलाई कार्यकर्ता होइन नेता बनाउँदैछ ।’
कैलालीस्थित जोशीपुर गाउँपालिकाको नगर समिति अध्यक्षमा गणेश डंगौरा निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षमा जुगरानी डंगौरा, सचिवमा राजकुमार डंगौरा र कोषाध्यक्षमा राजकुमारी चौधरी निर्वाचित भएका छन् ।
प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष एवं केन्द्रीय परिवेक्षक बीपी साहको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस र जसपाबाट ४५ जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डंगौराले आफूहरुलाई नेपाली कांग्रेस, एमाले, माओवादी र केही मधेशवादी जस्ता पार्टीले बारम्बार शोसन गरेको बताए ।
‘कांग्रेसले ठग्यो, एमालेले दमन गर्यो, माओवादीले हत्या गरायो, जसपा–राजपाले भोट लियो तर हाम्रो आन्दोलनलाई नै बेचिदियो।’ अध्यक्ष डंगौराले भने,‘थारुहरुको अबको विकल्प बैज्ञानिक डा.सीके राउतले नेतृत्व गरेको जनमत पार्टी नै हो ।’
प्रतिक्रिया