रबिन्द्र प्रजापति, मंसिर १२ गते रौतहट ।
सर्लाहीमा दुई छोराछोरी सहित आमा घरमै मृत फेला परेकी छिन् । जिल्लाको बरहथवा नगरपालिका वडा नं. १ का शिव हजारीकी २६ वर्षीया श्रीमती कविता हजारी, ६ वर्षीया छोरी सलोनी कुमारी र ४ वर्षीय छोरा स्वागत घरमै मृत भेटिएका हुन् । शनिवार साँझ विदेशमा रहेका श्रीमान शिवसँग फोनमा विवाद भएको थियो । कविता र शिवले भागी प्रेम विवाह गरेका थिए ।
आइतवार बिहान आफ्नै घरमा आमा र छोराछारीको शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमाशंकर यादवले जानकारी दिए । आइतवार बिहान कविता नउठेपछि छरछिमेकले खोजी गरेका थिए । कविताकी श्रीमान् शिव हजारी वैदेशिक रोजगारमा मलेसियामा छन् ।
वडाध्यक्ष रत्न बहादुर गिरीका अनुसार राति कविताले सेवइको खीर बनाएर छोराछोरीलाई खुवाएर सुताएकी थिइन्। उनले भने, ‘सटरभित्रै किराना पसल रहेको छ। त्यहीभित्र बस्ने खाने गरेका थिए ।’
आमा कविता पासो लागेको अवस्थामा र छोराछोरी ओछयानमै मृत फेला परेका छन् ।
सटरभित्रै तीनैजना मृत भेटिएको बरहथवाका मेयर देवानन्द मेहताले बताए । घटनास्थलको मुचुल्का गरि तीनैजनाको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।
आमाले छोराछोरीलाई विष खुवाएर ज्यान लिएपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया