जनकपुरधाम । धनुषा जिल्लाको एक बिधालयमा विद्यार्थीहरु आन्दोलित भएका छन् ।
मिथिला विहारी नगरपालिकाका वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय मिथिलेश्वर मौवाहिका विद्यार्थीहरु विद्यालयका प्रधानाध्यापक लालबाबु यादवले विद्यालयमा पठनपाठन नगराई राजनीति गर्ने अखाडा बनाएको र विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने प्रवृति हावी भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
प्रधानाध्यापक यादवको कालो कर्तूत तथा भ्रष्ट आचरणविरुद्ध आफूहरुले आन्दोलन गरेको बिद्यार्थीहरुले बताएका छन् । नाम उल्लेख नगर्ने सर्तमा एकजना बिद्यार्थीले भने,‘प्रधानाध्यापक यादवले विगतमा पनि थुप्रै भ्रष्टाचार गरेपछि उनलाई उनको गृहगाउँ रमौलस्थित विद्यालयबाट समेत स्थानियले लखेटेका थिए । विद्यालयलाई राजनीतिको अखाड़ा बनाई शिक्षास्तर धारासायी बनाएका उनले बिगत ५ बर्षदेखी स्कुलको हरहिसाबसमेत हालसम्म बिभिन्न बहाना र बिभिन्न राजनीतिक संरक्षणका कारण पारदर्शी गरेका छैनन् ।’
विद्यालयद्वारा बिद्यार्थीहरूलाई दिने गरिएको दिवा खाजामा पनि व्यापक अनियमितता देखिएको विद्यार्थीको गुनासो छ । बिद्यार्थीहरु त्यस बिरुद्ध गुनासो गर्दा प्रधानाध्यापक यादवले आफ्नो गुण्डा प्रवृत्ति देखाएपछि उनीहरु आन्दोलित भएका छन् ।
गाउँका भद्रभलादमीले विगत ४ बर्षदेखि हरहिसाब माग्दा उनले पटक पटक समय मात्र दिने गरेको र दबाब बढ़ाए पछि गत असोज ११ गते लिखित सम्झौता अनुसार कार्तिक २३ गते सम्पूर्ण हरहिसाब सार्वजनिक गर्ने प्रतिबद्धता जनाएपनि कार्तिक ५ गते बार्षिक प्रतिवेदन मात्र प्रस्तुत गरेको स्थानीय संजय ठाकुरले बताए ।
त्यसपश्चात उनको विरोध गर्दा उनले दुई दिनभित्र हरहिसाब सार्वजनिक गर्ने बताएपनि पछि एक महिनासम्म बिरामी विदा लिएर घर बसेको संजयले बताए । बिरामी विदा लिएर घर बसेका प्रधानाध्यापक यादव कार्तिक महिनाभरी गायब भएको उनको गुनासो छ । उनको क्रियाकलापदेखि रुष्ट बनेका केहि शिक्षकलाई उनका समर्थक शिक्षकहरुले अभिभावकहरुलाई धाक धम्की र दबाबसमेत दिएको बताइएको छ ।
प्रधानाध्यापक यादवको मनोमानीका कारण अहिले सो विद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलापहरु ठप्प रहेको छ । विद्यालयमा करिव १ हजार ४ सय बिद्यार्थीहरु अध्ययनरत छन् । यस सम्बन्धमा बुझ्न प्रधानाध्यापक यादवसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।
प्रतिक्रिया