जनकपुरधाम । विवाहपञ्चमी महोत्सव अन्तर्गत आथ तिलकोत्सव धुमधामका साथ मनाईएको छ ।
त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत सोमबार तिलकोत्सव विधि गरिएको जनकपुरधाम स्थित राम मन्दिरका महन्थ राम गिरीले बताए ।
राममन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव पुगेका थिए । प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधाम स्थित राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै समधी मिलन गरेका थिए । दुई महन्थ अंकमाल गर्ने कार्यलाई मिथिलामा समधी मिलन भन्ने गरिन्छ ।
तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास्य परिहास समेत भएको थियो । जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणनमा आइ तिलकोत्सव कार्यक्रममा सहभागि भएका थिए ।
तिलकोत्सवमा दुलही पक्षका प्रतिनिधित्व गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरि सम्धी मिलन गरेका थिए ।
अब विवाहपञ्चमी अन्तर्गत मंगलबार जानकीको मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने बुधबार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ । बिहिबार रामकलेवा विधि सम्पन्न भएसंगै यस वर्षको विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ ।
प्रतिक्रिया