रबिन्द्र प्रजापति, मंसिर २२ गते रौतहट ।
नेपाल प्रहरीका पूर्वडिआइजी एवं नेपाल सुशासन अभियानका केन्द्रीय संयोजक रमेश खरेलले देश अहिले भ्रष्टाचारीहरुको जालोमा फसेको बताएका छन् ।
देशको नेतृत्व गर्ने दल एवं दलका नेताहरु नै देश बनाउने र विकास गर्ने नाममा मुलुकमा व्यापक भ्रष्टाचार गर्न उत्रेको उनले बताए । रौतहटको गरुडामा मंगलवार नेपाल सुशासन अभियानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वडिआइजी खरेलले अहिलेका नेता एवं जनप्रतिनिधिहरु देश बनाउने नाममा देशलाई लुटनेतर्फ लागेको बताए ।
देशको कार्यकारी प्रमुख देखि लिएर न्यायपालिका प्रमुख, राजनीतिक दलका नेता एवं निर्वाचित जनप्रतिनिधि कसैलाई पनि देशप्रति माया नरहेको बताउँदै खरेलले उनीहरु जसरी भएपनि भ्रष्टाचार गरेर कसरी सात पुस्तालाई पुग्नेगरी अकुत सम्पति आर्जन गर्नेतर्फ मात्र लागेको आरोप लगाए
देश गलत मान्छेको हातमा गएको कारण अहिले राम्रा मान्छेलाई कुनै पनि ठाउँमा अवसर पाउन मुस्किल भएको र नेताको चाकरी गर्नेहरुलाई चाडैं अवसर पाइरहेको उनले बताए । उनले देश अहिले भ्रष्टाचारीहरुको जालोमा फस्नुको मुख्य दोषी हामी तपाई नै हो, चुनावमा सर्वप्रथम हामीले नै भोट दिएर गलत मान्छेलाई जिताएर देशको नेतृत्व गर्ने जिम्मा दिन्छौ ।
अघि उनले थपे हामीले नै गलत एवं भ्रष्ट मान्छेलाई सत्तामा पुर्याएर भ्रष्टाचार गर्ने लाइसेन्स दिने गरेका छौ, यसमा पहिलो गल्ती हामी तपाईको नै हो त्यसैले अबदेखि त्यस्तो भूल नगर्न उनले सबैलाई आग्रह गरे । देशलाई सुखी, समृद्ध र विकसित बनाउन आउँदो निर्वाचनमा राम्रा व्यक्तिलाई मात्र साथ दिन उनले सबैलाई आग्रह गरे । साथै उनले आगामी निर्वाचनमा भ्रष्टाचारी, गुण्डा एवं अपराधीलाई राम्ररी सवक सिकाउनुपर्ने धारणा राखे । देशबाट जबसम्म बेइमान, अपराधी, भ्रष्टाचारी एवं गुण्डाहरुको राज अन्त्य हुँदैन तवसम्म कुनैपनि हालतमा देश समृद्ध र विकसित हुन नसक्ने खरेलले दावी गरे ।
प्रतिक्रिया