जनकपुरधाम । धनुषामा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पेस्तोल सहित नियन्त्रणमा लिएको छ ।
प्रहरीको नियन्त्रणमा पर्नेमा सिरहा चिक्ना घर भएका ३५ वर्षीय राकेश पासवान रहेका बताएको छन् ।
धनुषाको गणेशमान चारनथ नगरपालिका वडा नम्बर ९ बरबझिया बस्ने संजय यादव र महाजन यादवको घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
अपरिचित ४/५ जना मानिसहरुको समूहले हात–हतियार देखाई संजय यादवको घरबाट नगद १ लाख ५० हजार र सुनचाँदीको गरगहना समेत गरी २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल र महाजन यादवको घरबाट नगद तथा सुनचाँदीको गरगहना समेत गरी २ लाख बराबरको धनमाल लुटेका थिए।
सो खबर प्राप्त हुने बितिकै प्रहरी चौकी बरबझिया र ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये पासवानलाई पक्राउ गरेको हो।
पासवानको साथबाट सानो पेस्तोलमा लाग्ने ३ राउण्ड लोड भएको १ थान म्यागाजिन समेत प्रहरीले बरामद गरेको छ । लुटपाटमा संलग्न रहेका फरार व्यक्तिहरुको तिब्र खोजी भइरहेको बताए साथै इलाका प्रहरी कार्यालय सबैलाले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया