जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायले यस प्रदेशको हरेक निकायमा १२ प्रतिशत आरक्षण पाउने बताएका छन् । जनकपुरमा मुस्लिम आयोगले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
प्रदेश सरकारले सबै समुदायलाई जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था गरिसकेको भन्दै मुख्यमन्त्री राउतले यस प्रदेशमा मुस्लिम समुदायले १२ प्रतिशत आरक्षण पाउने विश्वास दिलाए । उनले मदरसा शिक्षालाई राज्यले मान्यता दिनुपर्ने समेत माग गरे ।
मदरसा विधेयक विरोधका कारण संसदमा अलपत्र परेको बेला उनले मदरसामा अरबी र उर्दु मात्र नभएर अंग्रेजी, विज्ञान र गणित विषयको अध्यापन समेत हुनुपर्नेमा जोड दिए । मदरसा शिक्षासँगै आधुनिक शिक्षासंग बालबालिकाहरुलाई जोड्नुपर्ने उनको भनाई थियो ।
आयोगका अध्यक्ष समिम मियाँ अंसारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, प्रदेशसभा सदस्य अशोक यादव, जयनुल राइन, दिलिप साह, सुरिता साहलगायतले मुस्लिम समुदायको विकासमा जोड दिएका थिए ।
प्रतिक्रिया