जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले एकल निर्णय गरी पदाधिकारी चयन गरेपछि उत्पन्न विवाद उत्कर्षमा पुगेको छ ।
लोसपा प्रदेश २ को अध्यक्ष पदमा एकै व्यक्तिलाई चयन गरेको भन्दै राजेन्द्र महतो पक्षधर नेता कार्यकर्ताहरु खुलेर विरोधमा उत्रेका छन् । केपी ओली नेतृत्वलाई समर्थन गरेपछि तत्कालीन अध्यक्ष ठाकुर र उपेन्द्र यादव बीच तिक्तता उत्पन्न भएपछि निर्वाचन आयोगले उपेन्द्र यादवलाई जनता समाजवादी पार्टीकोको आधिकारिकता प्रदान गर्दा ठाकुर र महतोले लोसपा गठन गरेका थिए । लोसपा गठन भएपछि अध्यक्षमा ठाकुर नै सर्वसम्मतले अध्यक्ष चुनिए । तर, ठाकुर लोसपालाई तत्कालीन तमलोपा पार्टी बनाउन लागेको भन्दै महतो पक्षधर नेता कार्यकर्ताहरुले भने ठाकुरको विपक्षमा माइनेटिङ्गको साथै विरोधका कार्यक्रम समेत गर्न थालेको छ । महतो आइतबार भैरहवा पुगेपनि शनिबार देखिनै उनले आफ्ना पक्षधर नेता कार्यकर्ताहरुलाई उक्साएर जितेन्द्र सोनलको विरुद्धमा उतारेका छन् । सोनल प्रदेश २ का मन्त्री हुंदा आफ्ना निजी स्वार्थ सिद्ध गर्न नसकेकाहरु विरोधमा उत्रेको ठाकुर निकट नेता कार्यकर्ताहरुको भनाइ छ । अध्यक्ष ठाकुरले पार्टीका कार्यकारिणी समितिसंग कुनै सल्लाह नै नगरी सोनललाई प्रदेश अध्यक्ष बनाएको भन्दै त्यसलाई सच्याउन इतर समूहले जोडदार माग गरेका छन् । लोसपा निर्माण हुनुभन्दा अघि यी पार्टीहरु पहिला उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसंग एकता गरेर जनता समाजवादी पार्टी बनेको थियो । ६ महिना अघि पुनः यी चारै पार्टी जसपाबाट विभाजन हुदै लोसपा बनेको छ ।
लोसपा निर्वाचन आयोगमा दर्ता भएको ६ महिना नपुग्दै प्रदेश र जिल्ला नेतृत्वमा अध्यक्ष ठाकुरले एकलौटी गरेको भन्दै विवाद चरममा पुगेको छ । पार्टीका प्रदेश २ का संसदीय दलका नेता समेत रहेका सोनललाई दोहोरो जिम्मेवारी दिएर अध्यक्ष ठाकुरले पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुको मनोबल खसाएको महतो पक्षधर मानिएका नेता संजय सिंहको आरोप छ । पार्टी अध्यक्ष ठाकुर भए पनि पार्टीले कुनै निर्णय गर्दा पार्टीका ३१ सदस्यीय कार्यकारिणी समितिको निर्णय मात्रै गर्न सक्ने सहमति भएको थियो,नेता सिंहले भने,‘ अध्यक्ष ठाकुरले कार्यकारिणी समितिलाई कुनै जानकारी नै नदिइ एकलौटी रुपमा आफ्ना निकटलाई प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष तोक्नु हैकमवादी प्रवृति हो । यो हामीलाई स्वीकार्य हुन सक्दैन ।’ दुई दिन अघि अध्यक्ष ठाकुरले सोनललाई प्रदेश २ अध्यक्ष र प्रदेश २ का प्रमुख सचेत परमेश्वर साहलाई धनुषा जिल्ला अध्यक्षमा चयन गरेका थिए । कार्यकारिणी समितिको सहमतिमा प्रदेश २ र धनुषामा नयां नेतृत्व चयन नगरे आफूहरुले कडा कमद चाल्ने उनले चेतावनी दिए ।
अध्यक्ष ठाकुरले गरेको एकलौटी निर्णयलाई तत्कालीन तमलोपाका साथीहरुले पनि विरोध गरेको दाबी गर्दै सिंहले भने,‘ जिल्लाबाट सबै समूहको बैठकले सर्वसम्मति रुपले प्रदेश अध्यक्ष र जिल्ला अध्यक्ष परिर्वतन गर्न निर्णय गरी अध्यक्ष ठाकुरलाई पठाएका छौं । पार्टीको निर्णयमा तत्काल सुधार नगरिए पार्टी फुट्न सक्ने संकेत समेत उनले गरे ।
प्रतिक्रिया