जनकपुरधाम । पटक–पटक विवादित बन्दै गएको हंसपुर नगरपालिकामा अहिले सम्म विवाद कायमै रहेको छ । मेयर राम ज्ञान मण्डल र उप–मेयर रेणु झा बीच उत्कर्षमा रहेकोबेला पार्टीले उनीहरु बीचको विवाद समाधान गरेर नगरपालिकाको कामकारवाही अगाडि बढाउनुपर्ने बातावरण बने पछि अहिले केही दिन देखि प्रमुख प्रशासकीय अधिकृत संग विवाद चर्केको छ ।
आफ्नो अनुकुल प्रमुख प्रशासकीय अधिकृत नरहेको भन्दै मेयर मण्डलले प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीलाई नगरपालिकामानै उपस्थिति हुन नदिने अडान लिएपछि अदालतले उनलाई हाजिर हुन अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशले प्रमुख प्रशासकीय अधिकृत अधिकारी कार्यालयमा हाजिर भएपछि मेयर मण्डलले खातानै रोक्का गरेको सूचना प्रकाशन गरी खाता रोक्का गरेका थिए । मेयरले रोक्का गरेको बैंक खाता सञ्चालन गर्न उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिएको छ । हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले कात्तिक ७ गते नगरपालिकाको बैंक खाता रोक्का गर्न पत्राचार गरेको थियो । मण्डलले एनएमबी बैंकमा रहेको नगरपालिकाको सबै खाता रोक्का गरेपछि प्रशासकीय अधिकृत अधिकारीले उच्च अदालतमा दायरको रिटमा न्यायाधीश हरिप्रसाद बगाले र रमेश ढकालको संयुक्त इजलासले बैंक खाता सञ्चालन गर्न अन्तरिम आदेश दिएको हो । स्थानीय तहको प्रचलित कानुनबमोजिम संचालित खाता रोक्का राख्न सम्बन्धित बैंकलाई पत्र लेख्ने अधिकार स्थानीय तहका अध्यक्ष वा प्रमुखलाई नभएको आदेशमा उल्लेख गरिएको छ । कात्तिक ३० गते एनएमबी बैंकलाई हंसपुर नगरपालिकाको सबै खाता रोक्का राख्ने गरी मेयरले पत्राचार गर्दा खाता रोक्का गर्नु परेको कारणसमेत उल्लेख नगरेको अन्तरिम आदेशमा उल्लेख छ । ठोस आधारबिना मेयर मण्डलको अनाधिकृत पत्राचारबाट नगर कार्यपालिकाको सबै खाता रोक्का रहेका कारण् काम कारबाही तथा सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्न सक्ने स्थिति रहेकोले हंसपुर नगरपालिका, एनएमबी बैंकलाई खाता सञ्चालन गर्न अदालतले अन्तरिम आदेश दिएको हो ।
उच्च अदालत नियमावली २०७४ को नियम ४२ बमोजिम सुविधा सन्तुलनको आधारबाट कात्तिक ३० गते को च.नं.४०५को पत्रसम्बन्धी कामकारबाहीलाई कार्यान्वयन नगर्न विपक्षीहरुको नाममा उच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रशासकीय अधिकृत अधिकारीले नगरपालिकाको प्रशासन, योजना र जिन्सी शाखामा रहेका कर्मचारीको जिम्मेवारी परिवर्तन गरेपछि हंसपुरका मेयर मण्डलले खाता रोक्का गर्न बैंकलाई पत्राचार गरेका थिए । मेयर मण्डलले करारका कर्मचारीलाई शाखा प्रमुख बनाएका थिए । शाखा प्रमुखको काम सन्तोषजनक नभएपछि जिम्मेवारीबाट हटाएर निजामती कर्मचारीलाई शाखा प्रमुख बनाएपछि मेयर–अधिकृतबीच विवाद चर्केको हो । प्रशासकीय अधिकृत र मेयरबीच विवाद हुँदा मेयरले बैंक खाता रोक्न पत्राचार गर्नुका साथै नगरपालिकालाई इन्धन उपलब्ध गराउँदै आएको व्यवसायीलाई समेत पत्राचार गरेका थिए । कार्यालयको सम्पूर्ण आर्थिक कारोबार ठप्प गर्न मेयर मण्डलले नगरपालिकाको आर्थिक प्रशासन शाखा, नगरपालिकाको खाता भएको एनएमबी बैंक र नगरपालिकाले इन्धन लिँदै आएको भी आयललाई कुनै पनि कारोबार नगर्न पत्राचार गरेका थिए ।
प्रतिक्रिया