हँसपुर नगरपालिकाको मेयरलाई कानुनी कोडा

न्यूज डेस्क     २०७८ मंसिर २९, बुधबार १६:४६ बजे मा प्रकासित


न्युजडेस्क/जनकपुरधाम, मंसिर २९
धनुषाको हँसपुर नगरपालिकाको बैँक खाता सहित आर्थिक कारोवार समेत बन्द गर्ने गरी काटिएको पत्रलाई अमान्य गर्दै मेयरलाई कानुनी कोडा हानेको छ । साथै उच्च अदालत जनकपुरले सबै कार्य सुचारु गर्न आदेश दिएको छ ।

सोमबार उच्च अदालत जनकपुरधामले हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले बैँक खाता तथा आर्थिक कारोबार रोक्नको लागि काटेको पत्रको कुनै औचित्य नरहेको भन्दै सबै खाता सँचालनको आदेश दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले दिएको रिटमा सुनुवाई गर्दै उच्च अदालत जनकपुरले सोमबार मेयर मण्डलले रोक्का गरेको सबै कार्य सँचालन गर्न भनिएको छ ।

उच्च अदालत जनकपुरका न्यायधीशद्धय हरि प्रसाद बगाले र रमेश ढकालको सँयुक्त ईजलासबाट सो आदेश दिएको हो । मेयर मण्डलले नगरपालिकाको लेटरप्याडमा नगरपालिकाको खाता रहेको बैँक, आर्थिक प्रशासन शाखा, ईन्धन लिने पेट्रोल पम्पलाई समेत पत्राचार गर्दै कुनै कारोवार नगर्न आदेश दिएको थियो ।

तर, अदालतले स्थानीय तह सँचालन ऐन २०७४ लाई उदृत गर्दै बिना कुनै कारण र आधारको कुनै स्थानीय तहको अध्यक्ष वा प्रमुखलाई खाता रोक्का गर्ने अधिकार नदेखिएको भन्दै खाता रोक्का नरहने उल्लेख गरिएको छ ।

गत कार्तिक ३० गते नगर प्रमुख मण्डलले त्यहाँस्थित रहेको एन.एम.बी. बैँकलाई पत्राचार गर्दै खाता रोक्काको लागि आदेश गरेको थियो । तर, स्थानीय तह सँचालन ऐन २०७४ मा कुनै पालिकाको मेयर वा अध्यक्षले बिना कुनै कारण र आधारको खाता रोक्काको पत्राचार गर्न सक्ने अधिकार नरहेको भन्दै खाता सँचालन हुनुपर्ने आदेश दिएको हो ।

नगर प्रमुख मण्डलले चलानी नम्बर ४०५ मा एनएमबी बैँक, आर्थिक प्रशासन शाखा, भि आयललाई कुनै पनि अर्को आदेश नभएसम्म कुनै प्रकारको कारोवार नगर्न भन्दै पत्राचार गरेको थियो ।

पत्राचारमा खाता रोक्का गर्नुपर्ने कुनै आधार वा कारण उल्लेख नभएकोले त्यो चलानी नम्बरको पत्रलाई कार्यन्वयन नगर्न नगराउन उच्च अदालत जनकपुरले आदेश गरेको हो ।

मेयर मण्डलले अधिकृत अधिकारीलाई हाजिर गराउन समेत आनाकानी गरेपछि अधिकृत अधिकारीले अदालतबाटै आदेश लिएर हाजिर भएका थिए । मन्त्रालयबाटै सरुवा भएका अधिकृतलाई स्थानीय तहका प्रमुखले हाजिर नगराउने कुनै अधिकार नरहेको भन्दै उनलाई हाजिर गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया





Top