यादव-भट्टराई विवादले जसपा फेरि फुटको संघारमा

मधेशपाटी अनलाइन     २०७८ पुष ८, बिहीबार ०६:११ बजे मा प्रकासित


काठमाडौं । जनता समाजवादी पार्टी फुटको दिशातर्फ बढेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीचको विवादले जसपा फुटको दिशातर्फ बढेको हो ।

उपेन्द्र यादव नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर जाने पक्षमा देखिएपछि भट्टराई असन्तुष्ट भएका हुन् । कम्युनिस्ट सिद्धान्त त्यागीसकेका बाबुराम वैकल्पिक शक्तिका रुपमा अगाडि बढ्नुपर्नेमा माओवादीसँग मिलेको जसरी जान खोजेको भन्दै यादवसँग असन्तुष्ट बनेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्दै जाने यादवको प्रयासमा भट्टराईले अवरोध खडा गरेका थिए । त्यतिबेलाबाट यादव भट्टराईसँग असन्तुष्ट थिए । अहिले प्रचण्डसँग मिलेर जाने या फरक बाटोमा अगाडि बढ्नेबारे जसपाभित्र विवाद चुलिएको हो ।

जसपा फुट्ने अवस्थामा पुगेलगत्तै नेता कार्यकर्ता राजनीतिक भविष्य हेर्दै अन्य दलतर्फ जान थालेका छन् । कपिलवस्तुका मंगलप्रसाद गुप्ता एमाले प्रवेश गरिसकेका छन् ।

जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । महन्थ ठाकुर त्यसका अध्यक्ष छन् । जसपा फेरि फुटको संघारमा पुगेपछि मधेशी र जनजातिको बाहुल्य रहेको दलहरु कमजोर बन्दै गएका छन् ।

प्रतिक्रिया





Top