वीरगञ्ज । पर्साको जगरनाथपुरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको मानवसागर उर्लिएको छ ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएपछि स्थानीय जनता स्वतःफुर्त रुपमा कार्यक्रममा सहभागी भएका हुन् ।
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासहित समूहलाई पार्टीमा स्वागत गर्न अध्यक्ष ओली आज यहाँ आउनुभएको हो । सो कार्यक्रममा माओवादीबाट गत स्थानीय तहमा निर्वाचित पालिका अध्यक्ष मियासहित ठूलो संख्यामा एमाले प्रवेश गरेका छन् ।
ओलीले गठबन्धनको सरकार निकम्मा रहेको बताएका छन् । बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिँदै सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप लगाए ।
देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको पनि ओलीले बताए । ‘जनताले अहिलेको यो सरकार बनाएकै होइन, यो देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको हो’, अध्यक्ष ओलीले भने ।
‘गठबन्धनको यो निकम्मा सरकार हो, यसलाई विकासप्रति कुनै चासो छैन । आयात बढेको बढ्यै छ । महँगी, भ्रष्टाचार बढेको छ । धितो राखेर पनि कसैले ऋण लिन पाउने अवस्था छैन । सरकारले नेपाललाई गरिवीतिर लगेको छ’, ओलीको भनाइ छ ।
प्रतिक्रिया