जनकपुर: मिथिला टेक्निकलले जेहेन्दार बिद्यार्थीलाई नामांकनबाट बञ्चित गरेको आरोप,आर्थिक चलखेल

मधेशपाटी अनलाइन     २०७८ पुष १५, बिहीबार ०६:१७ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधामस्थित मिथिला टेक्निकल एकेडमी प्रा.लि.ले आर्थिक चलखेल गर्नका लागि जेहेन्दार बिद्यार्थीलाई नामांकनबाट बञ्चित गरेको आरोप लगाइएको छ ।

मिथिला टेक्नकल एकेडमीले हेल्थ एसिसटेन्टको खाली कोटामा कम अंक ल्याएका विद्यार्थीलाई नामांकन गरेको आरोप लगाइएको हो । जबकि बढी अंक ल्याएका विद्यार्थीहरु नामांकनका लागि निवेदन लिएर पटक पटक धाउँदा समेत सुनुवाई नभएको पीडित विद्यार्थीहरुको आरोप छ ।

मिथिला टेक्निकल एकेडमीले एचएमा विद्यार्थी भर्नाका लागि लिएको परिक्षामा १९ जना विद्यार्थीहरु नामांकन हुनेगरी उत्तीर्ण भएका थिए भने बाँकी १३ जना विद्यार्थीको नाम वैकल्पिक लिस्टमा निकालिएको थियो ।

तर १९ जना मध्ये १५ जना विद्यार्थीले मात्रै नामांकन गराएको वैकल्पिक सूचीमा नाम रहेको जनकपुरधाम–१२ बस्ने विद्यार्थी चन्दनकुमार दासको दावी छ । उनले १५ जनाले मात्रै नामांकन गराएपछि आफूहरुले वैकल्पिकमा राम्रो अंक ल्याएर उत्तीर्ण भएको आधारमा नामांकनका लागि पुगेपनि एकेडमी प्रशासनले कुनै सुनुवाई नगरेको आरोप लगाए ।

दास सहित धनुषाको मिथिला नगरपालिका–८ कुसुमबिसौनाका अजय कुमार महतो, हंसपुर नगरालिका–५ सुगानिकास बस्ने निरज कुमार मण्डललगायतका विद्यार्थीहरु पटक पटक एकेडमी धाउन थालेपछि ४ जना नामांकन गराउन चाहने ईच्छुक विद्यार्थीहरुलाई ७ दिन भित्र नामांकनका लागि निवेदन दिन सूचना प्रकाशन गरिएको थियो । सोही सूचनाको आधारमा निवेदन लिएर पुग्दा अब कोटा खाली नरहेको भन्दै आफूहरुलाई फर्काउने गरेको विद्यार्थी मण्डलले बताए ।

विद्यार्थीहरुले वैकल्पिक सूचीमध्ये सबैभन्दा कम अंक ल्याएका रिमा राम, कृष्णा सिंह, सचिनकुमार झा लगायतका विद्यार्थीहरुलाई भर्ना गरिएको आरोप लगाएका छन् ।

यता, मिथिला मिथिला टेक्निकल एकेडमीका सञ्चालक गणेश साहले एकेडमीले ति विद्यार्थीहरुलाई समयमै नामांकन गराउन पटक पटक ताकेता गर्दा पनि उनीहरुले समयमा नामांकनका लागि कुनै चासो नदिंदा उनीहरुको स्थानमा अन्य विद्यार्थाीको नामांकन गरिएको बताएका छन् ।

प्रतिक्रिया





Top