जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको पठनपाठन अनिश्चितकालका लागि बन्द गरिएको छ ।
स्थानीय रामानन्दचोकस्थित क्याम्पसमा अध्ययनरत विद्यार्थीले समय-समयमा शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलापका लागि विभिन्न किसिमका बन्द, आन्दोलन तथा तोडफोडका क्रियाकलाप गर्दै आइरहेकोले असहज परिस्थिति उत्पन्न भइ पठन पाठन बन्द गरिएको कार्यबाहक क्याम्पस प्रमुख विनोदकुमार कर्णले बताए ।
विद्यार्थीको गतिविधिबारे माथिल्लो निकायमा बारम्बार जानकारी गराउँदा पनि सुनुवाइ नभएकाले नियमित रूपमा क्याम्पस सञ्चालन गर्न असहज परिस्थिति सृजना हुँदा पुस १५ गते शुक्रबारदेखि समस्या समाधान नभएसम्म अनिश्चितकालका लागि क्याम्पसको सम्पूर्ण पठन पाठन स्थगित गरिएको कार्यबाहक क्याम्पस प्रमुख कर्णले जानकारी दिए ।
यसअघि विद्यार्थीले कार्यबाहक प्रमुख कर्णलाई विगत दुई दिनदेखि क्याम्पसभित्रै थुन्दै आएका थिए । कर्णलाई बिएससी सिएसआईटी तेस्रो वर्षमा अध्ययनरत पाँचौ सेमेष्टरका विद्यार्थीले शैक्षिक भ्रमणबापत क्याम्पसले पैसा उपलब्ध नगराएको भन्दै क्याम्पसभित्र थुनेका थिए ।
विद्यार्थीले शैक्षिक भ्रमणसहित सफ्टवेयर, नेटवर्क, डाटा सेन्टर, कम्युनिकेशनको सर्भर र प्रोग्रामिङका लागि क्याम्पससँग बजेट माग गरेका थिए । उनीहरूले पाठ्यक्रममै शैक्षिक भ्रमण गराउने उल्लेख रहेको र सोबापत नामांकन गराउने समयमै आफूसँग क्याम्पसले पैसा लिइसके पनि भ्रमणमा जाने बेलामा पैसा उपलब्ध नगराएको बिएससी सिएसआईटी पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थी राकेश यादवले बताए ।
क्याम्पस प्रमुख कर्णले विज्ञान तथा प्रविधि संकायका डिन प्राडा. श्याम किशोर महतोसँग सहयोग मागेका थिए । महतोले सोमबार मेगा बैंकमा रहेको खाताबाट ९० हजार रुपैयाँको चेक दिए पनि सो खाता बन्द रहेको पाएपछि विद्यार्थी थप आन्दोलित भएका छन् ।
प्रतिक्रिया