जनकपुरधाम । किसान आन्दोलनको क्रममा जनमत पार्टीले जारी राखेको डा. सिके राउत नेतृत्वको धनुषामा ट्रक नजलाएको दाबी गरेको छ ।
सोमबार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ छघरियास्थित ट्रकमा आगजनी भएको घटनामा जनमत पार्टीको हात भएको भन्दै समाचारहरु आएपछि जनमत पार्टी धनुषाले एक विज्ञप्ती जारी गरी आफूहरुले आगो नलगाएको स्पष्ट पारेको छ ।
जनमत पार्टीका धनुषा जिल्ला सचिव विजय साहले एक प्रेस विज्ञप्ती जारी गर्दै घुसपैठियाहरुले किसान आन्दोलनलाई बदनाम गर्नको लागि ट्रक जलाएर जनमतको नाम पोलेको आरोप लगाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘यस्ता घटनामा हाम्रो कुनै पनि कार्यक्रताको सहभागिता छैन, घुसपैठियाहरुले घटना गराएर जनमत पार्टीलाई बदनाम गर्ने र किसान आन्दोलनलाई दबाउने षडयन्त्र गरेको हाम्रो ठहर छ ।’ किसान आन्दोलन शान्तिपुर्ण र निरन्तर जारी रहने समेत बताइएको छ ।
सोमबार दिउँसो करिब ३ः२० बजे धनुषामा अज्ञात व्यक्तिहरुले ट्रकमा आगजनी गरेको बताइएको छ । सोही दिन सिरहाको मिर्चैयामा पनि विहान ६ बजे नै ट्रकमा आगजनी गरिदिएको थियो ।
जनमत पार्टीले किसान आन्दोलनको लागि बिहान १० बजदेखि मात्र पूर्व पश्चिम राजमार्गमा प्रदर्शन राख्ने भएकोले बिहानै ६ बजे कोही अन्य समूले आगो लगाएर जनमत पार्टीलाई बदनाम गर्न खोजेको दाबी गरिएको छ ।
सोमबार दिउँसो पनि जनमत पार्टीको आन्दोलन २ बजे नै समाप्त भएपनि ३ः२० मा आगजनी हुँदा षडयन्त्रपूर्वक ट्रकमा आगजनी गरी जनमत र किसान आन्दोलनलाई दबाउन खोजेको आरोप छ ।
प्रतिक्रिया