भारतीय किसानले मोदीलाई १५ मिनेटसम्म रोकिएपछि…

न्यूज डेस्क     २०७८ पुष २१, बुधबार १८:२९ बजे मा प्रकासित


काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी लस्कर १५ मिनेटसम्म फ्लाइओभरमा रोकिएको छ ।

बुधबार सडक मार्गबाट यात्रा गर्ने क्रममा किसानको प्रदर्शनका कारण मोदी चढेको सवारी लस्कर १५ मिनेटसम्म फ्लाइओभरमा रोकिएको हो ।

पञ्जाबको हुसेनीवालास्थित राष्ट्रिय शहीद स्मारकतर्फ जाने क्रममा किसानले गरेको प्रदर्शनका कारण उनीसहितको सवारी लस्कर बाटोमै रोकिएको हो ।

उक्त घटनालगत्तै फिरोजपुरमा बुधबार हुने मोदीको र्‍याली रद्द गरिएको छ । प्रधानमन्त्रीको सुरक्षामा गम्भीर कमजोरी भएको भन्दै सत्तारुढ भारतीय जनता पार्टीले पञ्जाबका मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार भाजपाका प्रमुख जेपी नड्डाले पञ्जाबको कांग्रेस सरकारमाथि चुनाव हार्ने डरले मोदीको भ्रमणमा अवरोध गर्न खोजेको आरोप लगाएका छन् ।

भारतको केन्द्रीय गृह मन्त्रालयले समेत मोदीको सवारी लस्कर १५ मिनेटसम्म फ्लाइओभरमा रोकिएको घटनाका सम्बन्धमा राज्य सरकारसँग रिपोर्ट मागेको छ । मोदीको कार्यतालिका र यात्रा विवरणबारे पञ्जाब सरकारलाई समयमै जानकारी गराइएको पनि गृह मन्त्रालयको भनाइ छ ।

तर पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले मोदीको सुरक्षामा कमजोरी भएको भाजपाको दाबीलाई अस्वीकार गरेका छन् । अन्तिम समयमा आएर मात्रै मोदीले सडक मार्ग हुँदै भ्रमण गर्न लागेको जानकारी गराइएको चन्नीको भनाइ छ ।

आफ्नो सुरक्षामा कमजोरी भएको घटनाबाट मोदी समेत असन्तुष्ट बनेको भारतीय समाचार माध्यमले जनाएका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया





Top