महोत्तरी : घरमै गाँजा पुरिया बनाएर बेच्ने ४ जना गिरफ्तार

न्यूज डेस्क     २०७८ पुष २२, बिहीबार ०६:२० बजे मा प्रकासित


जनकपुरधाम । महोत्तरी प्रहरीले घरबाटै लागूऔषध गाँजा बेचिरहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

गौशाला नगरपालिका-४ रजखोरको दुई घरबाट चार जनालाई पुरिया बनाएर बेच्न राखिएको ८ किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय रामचन्द्र साहको घरमा पुरिया बनाएर बेच्न राखिएको ३ किलो गाँजासहित रामचन्द्र र उनका २१ वर्षीय नाति रोहित साहलाई मंगलबार साँझ पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए । रामचन्द्रको घरबाट डिजिटल तराजु थान १ र गाँजा बिक्री गरेको १०० र ५० दरको १ हजार १ सय रूपैयाँ प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बर्दिवासले अनुसन्धान गर्दै जाँदा गौशाला नगरपालिका-४ रजखोरकै थप एक जना व्यक्तिले घरमै गाँजाको पुरिया बनाएर बेचिरहेको फेला परेको बिष्टले बताए ।

५३ बर्षीय उपेन्द्र साहको घरमा बिक्रीका लागि पुरिया बनाएर तयारी अवस्थामा राखिएको ५ किलो गाँजा बराामद गरी उपेन्द्र र उनका छोरा १९ बर्षीय विवेक साहलाई पनि नियन्त्रणमा लिइएको उनले बताए ।

उपेन्द्रको घरबाट डिजिटल तराजु थान १ थान र गाँजा बिक्री गरेको ६ हजार ५ सय रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ । लागूऔषध मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराएर उनीहरुबिरुद्ध अन्य अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया





Top