छठपूजाको झडप घाइते पटेल अस्पतालमा ज्यान गयो,स्थानीयले सडक अवरुद्ध नाराबाजी

न्यूज डेस्क     २०७८ पुष २२, बिहीबार २०:२४ बजे मा प्रकासित


वीरगञ्ज । प्रदेश नम्बर २ को बारामा गत कात्तिक २४ गते छठपूजाका क्रममा भएको झडपमा घाइते भएका बारा कलैया नगरपालिका वडा नम्बर १९ इनरवारीका १७ बर्षीय राधेश्याम पटेलको मृत्यु भएको छ । पटेलको उपचारको क्रममा बुधबार साँझ वीरगञ्जको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक २४ गते छठपुजाका दिन गाउँमा दुई पक्षबीच झडप भएको थियो । झडपका क्रममा टाउकोमा चोट लागेपछि पटेल गम्भीर घाइते पटेलको वीरगञ्ज पानीट्यांकीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो ।

चिकित्सकले बुधबार साँझ उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । न्युरो अस्पतालबाट उनको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगिएको छ ।

पोष्टमार्टमपछि उनको शव आफन्तको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ । छठपूजामा पटाका पड्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३० वर्षीय नाजिर हुसैन मियालाई त्यतिबेलै पक्राउ गरेको थियो । उनलाई पुर्पक्षका लागि कारागारमा रहेको प्रहरी नायब उपरीक्षक थापा बताउँछन् ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको उनले जानकारी दिए । राधेश्यामको मृत्युपछि स्थानीयले वीरगञ्ज–कलैया सडकखण्ड अवरुद्ध पारेका छन् । दोषीलाई कडा कारबाहीको माग गर्दै सिसहनीया चोकमा भेला भएका स्थानीयले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका हुन् ।

टायर बालेर विरोध प्रदर्शन गर्नुको साथै उनीहरुले नाराबाजी गरिरहेका छन् । घटनामा संलग्न दोषीलाई आजीवन कारावास, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग उनीहरुले राखेका छन् ।

प्रतिक्रिया





Top