ठाकुर र महतोबीच पार्टीभित्र विवाद, पार्टी कार्यालय जाँदैनन् महतो

न्यूज डेस्क     २०७८ पुष २७, मंगलवार ०७:१२ बजे मा प्रकासित


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एकलौटी ढंगले प्रदेश र जिल्ला नेतृत्व तोकेपछि पार्टीभित्र विवाद बढेको छ । ठाकुरले एकलौटी गरेपछि वरिष्ठ नेता राजेन्द्र महतो असन्तुष्ट छन् । प्रदेश अध्यक्ष, सचिव, जिल्ला अध्यक्ष र पर्यवेक्षक चयन गर्दा ठाकुरले एकलौटी गरेको आरोप महतो पक्षको छ ।

ठाकुरले प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष नियुक्त गरेका छन् । सोनल ठाकुरले पहिले खोलेको तराई मधेस लोकतान्त्रीक पार्टी (तमलोपा)का नेता थिए । उनी प्रदेश २ को संसदीय दलको नेता र भौतिक पूर्वाधार मन्त्री पनि भइसकेका छन् ।

मन्त्री हुँदा असफल भएको सोनललाई आफूनिकट भएकै कारण ठाकुरले प्रदेश अध्यक्षजस्तो महत्त्वपूर्ण पद दिएकोमा महतो पक्ष असन्तुष्ट भएको हो । महतोनिकट एक नेताका अनुसार जिम्मेवारी पाउँदा पटक-पटक असफल भएको सोनललाई प्रदेश २ को अध्यक्षमा, गैर-राजनीतिक व्यक्तिलाई सचिवमा र जिल्ला अध्यक्षहरूमा आफूनिकटलाई मात्र नियुक्त गरेकापछि दूरी बढ्नु स्वभाविक हो ।

‘ठाकुरजीले कसैसँग सल्लाह नगरी एकलौटी निर्णय गर्नुभयो,’ ती नेताले भने, ‘निर्णय गर्दा वरिष्ठ नेताहरूसँग समन्वयसम्म गर्नुभएन । त्यसमाथि असक्षम सावित भइसकेका व्यक्तिलाई पार्टीको बागडोर बुझाउने काम भयो । यसमा पुरानो तमलोपाका साथीहरू पनि असन्तुष्ट हुनुहुन्छ ।’

पार्टीको प्रदेश र जिल्ला नेतृत्व चयनपछि ठाकुर र महतोबीच संवाद टुटेको छ । महतो अहिले लोसपाको कार्यालयमा जान छाडेका छन् । दुबै नेताबीच वार्ताहरू बन्द भएको छ ।

ठाकुरनिकट एक सांसदले महतो नै टाढिएको आरोप लगाए । ती सांसदका अनुसार आफ्नो निर्णय लाद्न खोज्ने महतोको चरित्रका कारण यो अवस्था आएको हो । ‘पहिले पनि महतोजी पार्टी कार्यालयभन्दा बाहिरैबाट काम गर्न रूचाउने गर्नु हुन्थ्यो,’ उनले भने, ‘आफूले भनेको नहुने भएपछि अहिले त पार्टी कार्यालय आउनै बन्द गर्नु भएको छ ।’

नेताबीच दूरी बढ्नुमा महतोको निर्णय लाद्ने स्वभाव र ठाकुरजीको लादिएको निर्णय नमान्ने स्वभाव कारण रहेको लोसपा नेताहरूको बुझाइ छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर बनेको लोसपाका नेताबीच दूरी बढ्नुले निर्वाचन नतिजालाई नराम्रो असर गर्ने भन्दै कार्यकर्ता चिन्तित छन् ।

जसपाकै एक नेता शीर्ष नेतृत्वबीच दूरी बढे पनि पार्टी नै फुट्ने अवस्था भने नरहेको बताउँछन् । पार्टीको हित चाहने र चुनावमा शसक्त भएर जानुपर्छ भन्ने नेता कार्यकर्ताको जमातले नेताहरूलाई मिलाउने प्रयास जारी राखेको ती नेताले बताए ।

‘नेताहरूबीच दूरी बढेको त हो,’ ती नेताले भने, ‘तर, पार्टी फुटाउनु हुँदैन भन्नेमा शीर्ष नेता पनि सचेत हुनुहुन्छ । केही नेताहरूले दुबै शीर्ष नेताबीचको दूरी मेटाउने प्रयास जारी राख्नु भएको छ । छिटै नै यो समस्या समाधान हुन्छ ।’

 

प्रतिक्रिया





Top