जनताका सेवा सुविधाका लागि आउने बजेटमा व्यापक अनियमितता,
जनकपुरधाम। स्थानीय तहका जनप्रतिनिधिहरु जनताको सेवा प्रवाह गर्नुको साटो विकास निर्माणदेखि जनताका सेवा सुविधाका लागि आउने बजेटमा व्यापक अनियमितता गरी आफ्नो गोजी भर्न व्यस्त देखिएका छन् ।
यसको ज्वलन्त उदाहरणको रुपमा धनुषाको गणेशमान चारनाथ नगरपालिकाका जनप्रतिनिधि देखिएका छन् ।
गणेशमान चारनाथ नगरपालिका जनप्रतिनिधिले भत्ता तथा अवलोकनको नाममा लाखौ रुपैयाँको अनियमितता गरेको पाइएको छ । अनियमिततामा नगर प्रमुखदेखि उपप्रमुख, वडाअध्यक्षसम्मको संलग्नता रहेको पाइएको हो ।
अवलोकन भ्रमण भत्ता, इन्धन खर्च, खाजा खर्च लगायतको शीर्षकमा गत आर्थिक वर्षमा लाखौँ रुपैयाँ अनियमितता भएको हो । बिना अख्तियारी नै रकम खर्च गरिएको पाइएको छ ।
नगरप्रमुख रामबाबु यादवले गाडी मर्मत, इन्धन खर्च, खाजा खर्च, विविध खर्च शीर्षकमा जथाभावी खर्च गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
एउटै आर्थिक वर्षमा उनले एक पटक २ लाख ३ हजार ४ सय २७, फेरि गाडी मर्मत शीर्षकमै ३ लाख ६ हजार ८ सय ८४, मर्मत शीर्षकै थप ७६ हजार ८ सय ४० रुपैयाँ खर्च गरिएको हो । सो खर्चमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।
नगर उपप्रमुख मिनाकुमारी यादवले अवलोकन भ्रमणको नाममा ९६ हजार रुपैयाँ, अन्तर्राष्ट्रिय महिला दिवसको नाममा ४ लाख ४३ हजार १ सय ८८ रुपैयाँ, महिला सशक्तीकरण तालिमको नाममा २ लाख ९२ हजार रुपैयाँ खर्च गरेको जनाइएको छ ।
सो नगरपालिकाबाट महिलामा पाठेघरको स्वास्थ्य जाँचको नाममा ८५ हजार ६ सय ९३ रुपैयाँ निकासा गरिएको छ । उनले गरेको यी खर्चमा समेत अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया