काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद बढेको छ। अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनको बेला आफूलाई साथ दिएका नेता महेन्द्र यादवले पार्टी विरोधी काम गरेको भन्दै मन्त्रीबाट राजीनमा दिन दबाव दिएका छन्।
अध्यक्ष यादवले कृषिमन्त्री रहेका महेन्द्र रायलाई सरकारमा गएर राम्रो काम गर्न नसकेको तथा पार्टी विरोधी गतिधिवि गरेको भन्दै राजीनमा दिन दबाव दिएको स्रोतले जनाएको छ।
‘सरकारमा बसेर विभागीय मन्त्रालयको काम राम्रोसँग गर्ने भन्दा पनि पार्टी हित विपरितको काम गरेपछि अध्यक्षले उहाँ (महेन्द्र राय) लाई सचेत गराउन खोज्नु भएको हो,’ स्रोतले भन्यो, ‘पार्टी विपरित काम गर्ने हो भने सरकार बाहिर बसेर गर्न सकिन्छ। सरकारमा गइसकेपछि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।’
तत्कालीन जसपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला महेन्द्र रायले उपेन्द्र यादवलाई साथ दिएका थिए। राय पार्टीभित्र जिम्मेवार र सिनियर नेता मानिन्छन्। तर पछिल्लो समय डा. बाबुरा भट्टराई, महेन्द्र राय यादव र मृगेन्द्र सिंह यादवको छुट्टै गुट बनाएको भन्दै अध्यक्ष यादव असन्तुष्ट छन्।
‘विशेष गरी पूर्व नयाँ शक्तिबाट आएका नेता र सजपाभित्रै पनि सरकारमा सहभागी हुन नपाएका नेताहरुले अहिले अध्यक्ष यादवले एक्ल्याउने रणनीति लिएका छन्,’ अध्यक्ष यादव निकट स्रोतले भन्यो, ‘उहाँ सकेसम्म सबैको चित्त बुझाउने गरी काम गर्दै हुनुहुन्छ।’
उता असन्तुष्ट पक्षले भने अध्यक्ष यादव एक पक्षीय ढंंगले अघि बढेको आरोप लगाएका छन्। पार्टीमा जिम्मेवार नेतालाई बेवास्ता गर्दै यादव एक पक्षीय रुपमा अगाडि बढ्न खोजेपछि समस्या निम्तिएको डा. भट्टराई निकट एक नेताले जनाए।
‘हालसम्म ७० प्रतिशत निर्णय अध्यक्ष एक्लैले गर्दै आउनु भएको छ, जबकि पार्टीमा पूर्व प्रधानमन्त्री भइसकेका र वरिष्ठ नेताहरु पनि हुनुहुन्छ, उहाँहरुलाई बेवास्ता गर्दै एकल ढंगले अगाडि बढ्दा समस्या त भइहाल्छ नि!’ अध्यक्ष यादवले महेन्द्र रायलाई सरकारबाट हट्न भनेपछि पार्टीभित्रको विवाद झन् बढेको छ।
प्रतिक्रिया