विजय साह,जनकपुरधाम । माघे संक्रान्तिलाई तराईवासी तिला संक्राइतका रुपमा मनाउने गर्छन्।
तिला संकराइत नजिकिएसँगै तराईका हटियामा तिल, चिउरा, मुरही र सख्खरको बिक्री बढेको छ।
यसदिन सख्खर मिसाएर बनाइएको तिल, चिउरा, मुरही र जनेरको लड्डु खाने चलनले छ।
धनुषाको सखुवाबजार, ढल्केवर, बिरेन्द्रबजार, सबैला, जनकपुरलगायत साना ठूला हटियामा अन्य दिनको तुलनामा चिउरा, मुरही सख्खर बिक्री गर्ने पसलको सङ्ख्या पनि थपिएको छ।
देशकै ठूलो हटिया सखुवा बजारमा अरुबेला तीन चार वटा चिउरा मुरहीका पसल देखिन्थ्यो भने अहिले दुई दर्जनभन्दा बढी पसल खुलेका छन्।
यो समयमा चिउरा मुरहीको बिक्री बढी हुने भएकाले पसलको सङ्ख्या बढेको व्यापारीहरु बताउँछन्।
यसवर्ष सामानका मूल्य यथावत भएपनि तिलको मूल्यमा कमी आएको छ।
प्रति किलोग्राम चिउरा ५५ र मुरही ८० रुपैयाँमा बिक्री भइरहेको छ भने अधिल्लो वर्ष तीन सय रुपैयाँसम्ममा बिक्री भएको तिलको मूल्यमा कमी भएर २०० देखि २२० सम्म बेचबिखन भइरहेको व्यापारी रामबाबू साहले बताए।
यस्तै सख्खरको मुल्यमा वृद्धि भएको छ। अधिल्लो वर्ष ६० देखि ७० रुपैयाँमा बिक्री भएको सख्खरको मूल्य बढेर ९० देखि एक सय रुपैयाँमा बिक्री भइरहेको सख्खर व्यापारी सरिता महताले जानकारी दिए।
चिउरा र मुरहीको बिक्री बढेपछि उत्पादन गर्ने उद्योगलाई भ्याइनभ्याई छ।
मिथिला नगरपालिका–२ हजारा चौकस्थित राजदेवी चिउरा उद्योग अहिले दैनिक छ हजार किलोग्राम चिउरा र सात हजार किलोग्राम मुरही उत्पादन गरिरहेको छ।
सामान्य दिनमा भने दैनिक चार हजार किलोग्राम चिउरा र पाँच हजार किलोग्राम मुरही उत्पादन गर्दैआएको थियो।
उद्योग सञ्चालकले बिक्रीको चाप देखेर उद्योग सञ्चालनको समयअवधि समेत थप गरेको छ।
सामान्य अवस्थामा दैनिक ८ देखि १० घण्टा सञ्चालन हुने उद्योग अहिले दैनिक १७ देखि १८ घण्टासम्म सञ्चालन गरिरहेको राजदेवी च्यूरा मिलका सञ्चालक सागर साहले भने।
जिल्लामा आधा दर्जनको हाराहारीमा चिउरा र मुरहीका उद्योगहरु छन्। सबै उद्योगहरुले यतिबेला उत्पादन बढाएका छन्।
हटियामा तरुल, सख्खर खण्ड, पिँडालु र कन्दमुलको बिक्री पनि राम्रो छ।
विशेष गरी पहाडका वासिन्दाले माघे संक्रान्तिमा उपभोगमा ल्याउन यी सामाग्री पछिल्लो समय तराईवासीले समेत प्रयोग गर्न थालेका छन्।
मिथिलाञ्चलमा तिला संक्राइतका दिन खिचडी, मुरही, चिउरा तिलको लड्डु खाने अनिवार्यता रहेको छ। माघे संक्रान्तिका दिन उपभोग गर्ने लड्डुहरु भने पुस महिनाको अन्तिम राति बनाइन्छ।
यसरी बनाइएको तिल, चिउरा र मुरहीका लड्डु विवाहित चेलीबेटीहरुको घरमा कोसेलीको रुपमा पुर्याउने चलन छ।
नेपालीहरुको प्रमुख चार्डमध्येका यस पर्वलाई विभिन्न समुदायमा आ–आफ्नै नामबाट मनाइने गरिन्छ।
थारू समुदायले ‘माघी’ पर्वका रूपमा यसलाई मनाउँछन्। मगर समुदायले तीरको निशाना लगाउने खेल ‘आर्चरी’ खेलेर रमाउँछन्।
प्रतिक्रिया