महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकाे प्रशासनिक भवनमा ताला लगाएको छ ।
गाउँपालिकामा भ्रष्टाचार, अनियमितता, अपारदर्शिता भएको भन्दै सर्वदलीय संयुक्त आन्दोलन परिचालन समितिले तालाबन्दी गरेका छन ।
उनीहरूले गाउँपालिका अध्यक्ष बिक्रम चौधरी, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको पुतलासमेत जलाएका छन् ।
गाउँपालिकाको कार्यालयमा सूचनाको हक, सुशासन र पारदर्शिता कायम गर्नका लागि समितिमा आबद्ध व्यक्तिहरूले तालाबन्दी गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका स्थानीय नेता विनीत पाण्डेले बताए । गाउँपालिका अध्यक्ष विक्रम चौधरीले एउटा पनि कानून निर्माण नगरी असक्षमता प्रदर्शन गरेको उनको आरोप छ ।
उनले अध्यक्ष चौधरीले स्थानीय कानून नबनाउनु, प्रदेश र संघीय कानूनको कार्यान्वयन र परिपालन नगराउनु, सुशासन कायम नगर्नु, पारदर्शिता नगर्नु, कुशासनलाई बढावा दिनुलगायतका गतिविधि गरेर स्थानीय जनताका लागि अभिशापको रूपमा स्थापित भइरहेको आरोपसमेत लगाए ।
समितिले यसअघि मशाल जुलुस प्रदर्शन गर्नुका साथै गाउँपालिका कार्यालयको मुल गेटमा ६ दिनसम्म धर्नासमेत दिएको थियो ।
गाउँपालिका अध्यक्ष चौधरी भ्रष्टाचारमा आफैँ संलग्न हुनुका साथै सम्पूर्ण कर्मचारीतन्त्रलाई पनि संलग्न गराएर निकम्मा, गैरजिम्मेवार, गैरजवाफदेही, असक्षम एवं भ्रष्ट अध्यक्षको रुपमा स्थापित भएकोले त्यसको विरुद्धमा खबरदारी गर्न आन्दोलनको शुरुवात गरिएको पाण्डेले बताए ।
प्रतिक्रिया