जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव

न्यूज डेस्क     २०७८ माघ १५, शनिबार १८:५० बजे मा प्रकासित


काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै, बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए तत्काल प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको छ । यसअघि शनिबार बिहान सत्तारुढ गठबन्धनबीच स्थानीय तह निर्वाचन सम्बन्धमा छलफल भएको थियो ।

गठबन्धनमा रहेका दलबीच नै स्थानीय तह निर्वाचन सम्बन्धमा सहमति जुट्न नसकेपछि कानूननविद्सहित साँझ छलफलमा बस्ने गरी बैठक स्थगित गरिएको थियो । संविधान र निर्वाचन ऐनमा द्धिविधा देखिएको भन्दै सत्तारुढ गठबन्धनले यसअघि पनि कानूनविद्सँग छलफल गरेका थिए ।

कानुनविद्हरुले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर संविधान अनुरुप बनाउनुपर्ने सुझाव दिएका थिए । कानूनविद्को सुझाव अनुसार सरकारले ऐन संशोधन गर्ने तयारी गरेपछि सरकार र सत्तारुढ गठबनधनले स्थानीय तह निर्वाचन सार्न खोजेको आरोप लागेको थियो ।

मुख्यगरी विपक्षी दल नेकपा एमालेले ऐन संशोधन गरेर स्थानीय तह निर्वाचन सार्न खाजेको भन्दै सरकारको आलोचना गर्दै आएको थियो ।

प्रतिक्रिया





Top