महोत्तरी प्रहरी हत्या प्रकरण :फरार १९ जना आरोपीको सम्पती रोक्का

न्यूज डेस्क     २०७८ माघ १८, मंगलवार १८:४६ बजे मा प्रकासित


जनकपुरधाम । मधेस आन्दोलनको क्रममा घाइते प्रहरी सहायक निरिक्षक थमन बहादुर बिकलाई उपचारको लागि जनकपुरधाम लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीहरुले कुटपिट गर्दा मृत्यु भएको घटना संलग्न रहेको पक्राउ नपरेका १९ जना आरोपीहरुको सम्पती रोक्का गर्न महोत्तरी जिल्ला अदालतले आदेश गरेको छ।

मधेश आन्दोलनको बेला २०७२ साल भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रहरी सहायक निरीक्षक थमन बहादुर विकलाई एक्लै पाएर आन्दोलनकारीहरुले जलेश्वर नगरपालिका- २ स्थित हाटबजारमा कुटपीट गरेका थिए ।

 

आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते बिकलाई उद्धार गरी उपचारका लागि जनकपुरधाम लैजाँने क्रममा महोत्तरी गाउँपालिकाको सोनउखरा भन्ने स्थानमा एम्बुलेन्सबाट थुतेर निर्घात कुटपिट गर्दा उनको त्यहि मृत्यु भएको थियो।

सोहि घटनामा संलग्न रहेको तर हालसम्म पक्राउ नपरेका १९ जना प्रतिवादीको सम्पत्ति रोक्का गर्न महोत्तरी जिल्ला अदालतले आदेश जारी गरेको स्रेस्तेदार मदन जयसवालले जानकारी दिए ।

प्रेमबहादुर विकको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी विकी साह समेत भएको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतले प्रतिवादी कौशलकुमार यादव, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव, अनिल ठाकुर र विकी साहको सम्पति रोक्का राख्न आदेश जारी भएको स्रेस्तेदार मदन जयसवालले जनाए।

महोत्तरी जिल्ला अदालतको आदेशानुसार उल्लेखित प्रतिवादीको नामको विभिन्न मितिमा म्याद तामेल भइसकेको तर निज प्रतिवादी हालसम्म पक्राउ नपरेको र अदालतमा उपस्थित समेत नभएको देखिएको हुँदा उनिहरुको अंश हकमा रहेको अचल सम्पत्ति मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ५८(१५) एवं दफा ६५(१) को खण्ड (ख) अनुसार रोक्का राख्न आदेश दिइएको हो ।

यसै घटनामा संलग्न रहेको ओरोपित मधेस प्रदेश (प्रदेश नं. २) का तत्कालिन सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा २०७५ साउन २८ गते र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे २०७५ साउन २९ गते साधारण तारिखमा रिहा भएका थिए । उनिहरु माथि पनि बिक हत्या प्रकरणको मुद्दा चलिरहेको छ।

प्रतिक्रिया





Top