जनकपुरधाम । महोत्तरी जिल्ला स्थित लक्ष्मीनारायण मठले तिरुपति तिरुमला देवस्थानम् ट्रष्टबाट निर्माण गरिएको यात्री निवास (धर्मशाला) दिएको जग्गाको लिज खारेज गर्ने तयारी रहेको बताए ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले सञ्चालन गर्दै आएको सो धर्मशालालाई पोखराको व्यवसायिक फर्म बतासलाई होटेल सञ्चालनका लागि बहालमा दिएपछि मठले लिज तोड्न लागेको हो । मठले १ बिघा २ कठ्ठा क्षेत्रफल रहेको सो जग्गा धर्मशाला निर्माणका लागि उपलब्ध गराए पनि पछि वृहत्तरका तत्कालीन अध्यक्ष महेन्द्रनारायण निधिको पहलमा कार्यालय समेत स्थापनाको अनुमति दिएको मठका महन्थ जगरनाथ दास वैष्णवले बताए । ‘वार्षिक २५ हजार बहाल रकम मठलाई बुझाउने शर्तमा जग्गा लिजमा उपलब्ध गराइएको छ’ उनले भने, तर पछिल्लो ८ वर्षदेखि बहाल रकम समेत वृहत्तरले बुझाएको छैन् ।
पूर्ण रुपमा शाकाहारी भोजनको व्यवस्था र यात्रीहरुको बसोवासका लागि जग्गा उपलब्ध गराइएको जनाउँदै उनले भने, वृहत्तरले सहमति विपरीत होटेल सञ्चालनका लागि भाडामा लगाएको सुनेको छु । सम्झौता विपरीत भइरहेको पुनर्संरचनाको कामलाई तत्काल रोक्न र सम्झौता रद्दका लागि आवश्यक कानूनी प्रक्रियालाई अगाडि बढाउने महन्थ वैष्णवले बताए । धर्मशाला सञ्चालन बाहेक अन्य प्रयोजनका लागि सो जग्गा उपलब्ध नगराइएको महन्थ दासको दावी छ । उनले २०४९ सालमा धर्मशाला निर्माणका लागि उपलब्ध गराइएको बताए ।
वार्षिक २५ हजार बहाल बुझाउन नसकेको वृहत्तरले वार्षिक ३० लाखमा यात्री निवास (धर्मशाला) लाई ठेक्का लगाएको छ । भारतीय प्राविधिकहरुले डिजाइन गरी निर्माण गरेको सो धर्मशालालाई बतास समूहले पुनर्संरचना गरेको छ । धर्मशालामा कोठाहरु थपिएका छन् । भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा यात्री निवास निर्माण भएको हो । तर वृहत्तरले त्यो संरचनाको समुल परिवर्तन गरी होटेल बनाइएको छ । वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले यात्री निवास मर्मत संभारका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारसित दुई करोड बजेट लिएको थियो । तर त्यही वर्षमा बतासलाई होटेल बनाउन ठेक्का लगाएको देखिन्छ ।
प्रतिक्रिया