एमाले एकलै निर्वाचन लडने : ज्ञवाली

मधेशपाटी अनलाइन     २०७८ माघ १९, बुधबार १७:३४ बजे मा प्रकासित


काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको स्थानीय तह निर्वाचन र संवैधानिक व्यवस्था तथा अबको राजनीति विषयक खुल्ला बहस कार्यक्रममा बोल्दै संविधानका छिद्र खोज्ने कार्यले अहिले पनि हाम्रो लोकतन्त्र खतरामा छ भन्ने देखाएको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचन घोषणा नहुन्जेल दबाब दिन जरुरी रहेको बताउनु भएको हाे । स्थानीय तह निर्वाचन समयमा नै हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

एमालेलाई निर्वाचनमा लड्न कसैको आड र टेको आवश्यक नरहेको उहाँले प्रष्ट पार्नुभयो । सबैलाई एक्ला एक्लै चुनाव लडेर आफ्नो हैसियत प्रष्ट पार्न पनि ज्ञवालीले आग्रह गर्नुभयो । ‘ कोही डराउनु पर्दैन, नेकपा एमाले चुनाव एक्लै लड्छ’, ज्ञवालीले भन्नुभयो ।

गएको स्थानीय तह निर्वाचन पनि एमालेले कांग्रेस माओवादीको गठबन्धनसँग एक्लै लडेको उहाँले बताउनुभयो । अहिले गठबन्धन गरेरै आए पनि एमाले हाँसी हाँसी चुनाव लड्ने उहाँले बताउनुभयो । तर एक पटक कांग्रेस र एमालेलाई एक्लै एक्लै चुनाव लड्न उहाँले प्रस्ताव गर्नुभयो ।

अहिले सरकार सरकार जस्तो नरहने, न्यायालय ठप्प हुने र संसद् नचल्ने अवस्था रहेको ज्ञवालीले बताउनुभयो । विकास खर्च न्यून हुनु, विदेशबाट आउने सहयोग ठप्प हुनुले देश संकटमा पर्दै गएको उहाँले बताउनुभयो । ‘ देश एकदमै अप्ठ्यारो अवस्थामा छ’, ज्ञवालीले भन्नुभयो ।

यही बेलामा सरकारमा रहेका राजनीतिक दलहरू भू–राजनीतिक प्रतिस्पर्धा बनाउने काममा लागेको ज्ञवालीले बताउनुभयो । एमसीसीको विषयलाई अनावश्यक रूपमा नछालेर दुई देश बिचको सम्बन्ध माथि खेलबाड गरेको उहाँले बताउनुभयो । यसको निकास अब ताजा जनादेशले मात्र दिन सक्ने उहाँले प्रष्ट पार्नुभयो ।

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई अनावश्यक रूपमा नगिजोल्न उहाँले आग्रह गर्नुभयो । एमसीसीको विषय संसद्को विषय भएकोले त्यसलाई त्यहीँ छलफल गर्न दिन उहाँले आग्रह गर्नुभयो । दुई देश बिचको सम्बन्धको विषयलाई अध्यारो कोठामा बसेन नउछाल्न पनि उहाँले आग्रह गर्नुभयो । एमसीसी संसद्मा प्रवेश गरेपछि त्यस विषयमा जनताले सुन्ने गरी एमालेले आफ्नो धारणा राख्ने उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिनिधि सभाको अवरोध खोल्नका लागि एमालेले कारबाही गरेका सांसदको नाम टाँस गर्न वा सभामुखले सार्वजनिक रूपमा माफी माग्न वा बाटो खालि गरिदिन वा प्रचण्डकै सेटिङ् भएका न्यायाधीशबाट छिटो फैसला गराए विषय टुङ्ग्याउने कुनै एक काम गर्न उहाँले आग्रह गर्नुभयो । यी मध्ये कुनै एक विकल्प नदिएसम्म एमाले चुप लागेर बस्न नसक्ने उहाँले पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया





Top