जनकपुर: तराई राजधानी हस्पिटल अवैध रूपमा सञ्चालित,शिशुको मृत्यु क्षतिपूर्ति तिरेर घटना ढाकछोप

न्यूज डेस्क     २०७८ माघ १९, बुधबार १८:३८ बजे मा प्रकासित


दिपक कर्ण,जनकपुरधाम । स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी अस्पताल सञ्चालन गर्दा प्रचलित कम्पनी कानुनबमोजिम स्थापना भई अनुमति प्रदान गर्ने निकायबाट स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेको हुनुपर्दछ ।

 

२५ शय्यासम्मका अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट र २५ शय्यादेखि माथिका अस्पताल सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ ।

तर, जनकपुरधाममा भने यस्तो केही देखिँदैन । यहाँका अधिकांश अस्पताल दर्ताविना नै वर्षौंदेखि सञ्चालनमा रहेका छन् । यस्ता अस्पताल दर्जनौंको संख्यामा रहे पनि जनकपुरधाम उपमहानगरपालिका तथा प्रदेश सरकार मातहतको निकायले अनुगमनतर्फ कुनै चासो नै देखाएको छैन् । यहाँ कुन–कुन निजी अस्पताल र पोलीक्लिनिक तथा क्लिनिक दर्ता भएर सञ्चालन भएका छन्, त्यसको उपमहानगरपालिकासँग कुनै तथ्यांक नै छैन ।

यस्तै, अवैध अस्पतालमध्येको एक हो, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित डा.भगवान सहनी र डा.गंगाप्रसाद यादवले सञ्चालन गरेको तराई राजधानी हस्पिटल । २२ शय्याको यो अस्पताल विगत करिब डेढ एक वर्षदेखि दर्ताविना नै सञ्चालनमा रहेको पाइएको छ । दर्ताविना नै सञ्चालित यस अस्पतालले कैयौँ नवजात शिशुलाई समेत मृत्युको मुखमा पुर्याइसकेको छ । तर, सरकोकारवाला निकायले अझै यस अस्पतालमाथि कुनै कारबाही गरेको छैन ।

सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यो अस्पताल सञ्चालित छ । यो अस्पताल कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गरेकै भरमा चलिरहेको छ । कम्पनी रजिस्ट्रारमा दर्ता भएको कम्पनीले उद्देश्यअनुसारको काम गर्नका लागि अन्य सम्बन्धित निकायसँग अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर, तराई राजधानी हस्पिटलले स्वास्थ्य सेवा सञ्चालनका लागि कुनै पनि निकायसँग अनुमति लिएको छैन ।

अस्पताल प्रवेश गर्ने मुख्यद्वारको बोर्डमा भने कम्पनी रजिस्ट्रारको दर्ता नम्बर नलेखी त्यसलाई दर्ता नम्बर भनेर उल्लेख गर्दै बिरामी ठग्दै आएको पाइएको छ । यस अस्पतालले २०७७ असोज ११ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराई त्यसको दर्ता नम्बर २४३१५५ पाएको छ । तर, बोर्डमा भने कम्पनी रजिस्ट्रारको दर्ता नम्बरलाई बिरामी झुक्याउन दर्ता नम्बर भन्दै उल्लेख गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले पनि तराई राजधानी अस्पतालको दर्तासम्बन्धी कुनै पनि फाइल निर्देशनालयमा नरहेको जानकारी दिए । उनले २२ शय्या मात्रैको अस्पताललाई बोर्डमा अस्पताल भनेर लेखाउने कुनै कानुनी आधार नरहेको बताए ।

अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने नियम रहे पनि यस अस्पतालले त्यस्ता बिरामीसँग पनि अवैध रुपमा रकम असुल गरिरहेको छ ।

छोटो समयमै धेरै आम्दानी हुने भएकाले पछिल्लो समय स्वास्थ्य संस्थाहरुलाई पनि व्यवसायको रुप प्रदान गरिएको र सरोकारवाला निकाय मानव स्वास्थ्यमाथि भइरहेको यति गम्भीर लापरबाहीका घटनामा समेत उदासीन र मौन देखिँदै आएको स्थानीयको गुनासो छ ।

‘चिकित्सा पेसा एक मर्यादित, उत्तरदायी र संवेदनशील भएकाले जिम्मेवार मानिन्छ । तर, सो अस्पतालका सञ्चालकद्वय डा. भगवान सहनी र डा.गंगाप्रसाद यादवले मानव स्वास्थ्यको कुनै वास्ता नै नगरी गैरकानुनी रूपमा अस्पताल सञ्चालन गरेर खेलवाड गर्दै आएका छन्,’ स्थानीय जिवेन्द्र झाले भने । सरोकारवाला निकायमा कार्यरत अधिकारीहरूले अवैध धन्दा रोक्न छाडेर आर्थिक चलखेलमै चुक्ने गरेको उनको आरोप छ ।

विनादर्ता कुनै पनि स्वास्थ्य संस्था सञ्चालन हुनु अवैध हो,’ जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्रले भनिन्, ‘अस्पताल हुनका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्छ । दर्ता भएकालाई मात्रै हामी चिन्छौँ । दर्ता र नवीकरण नहुनेलाई हामी बन्द गर्ने प्रक्रिया सुरु गर्छौं ।’ यो समस्या समाधान गर्न आफू लागिरहेको उनले बताइन् ।

यो हस्पिटल सामान्य भवनमा चलिरहेको छ, जुन मापदण्ड विपरीत हो । कुनै पनि अस्पतालले सेवा सञ्चालन गर्दा अस्पताल रहने स्थान धुँवा, धुलो, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको हुनुपर्नेमा यस अस्पतालले त्यस्तो मापदण्डको कुनै पालना नै गरेको छैन ।

त्यस्तै, सवारीसाधन पार्किङका लागि पर्याप्त व्यवस्था भएको हुनुपर्ने र त्यसका लागि २५ प्रतिशत जग्गा छुटयाउनुपर्नेमा कुल १८ धुर जग्गामा मात्रै सञ्चालित यस अस्पतालमा पार्किङका लागि कुनै व्यवस्थापन नै गरिएको छैन ।

यस सम्बन्धमा अस्पतालका सञ्चालक डा.गंगाप्रसाद यादवले आफूहरु हस्पिटल दर्ताको प्रक्रियामा रहेको बताए । हस्पिटल सञ्चालन गरेको एक वर्ष बिते पनि हालसम्म दर्ता हुन नसकेको स्विकार्दै उनले तत्काल दर्ताको प्रक्रियामा जाने बताए । फरकधारसँगको कुराकानीमा अस्पतालका सञ्चालक डा. यादवले भने, ‘हामी दर्ता प्रक्रियामा छौँ, अब छिट्टै दर्ता गर्छौं ।

चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु

जनकपुरधामस्थित तराई राजधानी अस्पतालको लापरबाहीका कारण फेरि एक नवजात शिशुको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।

प्रसवपीडा बढेपछि गत माघ १३ गते बर्दिबास नगरपालिका वडा नम्बर–६ किसानपुर बस्ने आशिक साहले आफ्नी गर्भवती पत्नी अमृतादेवी साहलाई अपराह्न १२ बजे अस्पताल भर्ना गराएका थिए । अस्पतालले नर्मल डेलिभरी हुँदैन अप्रेसन गर्नुपर्छ भनेपछि साह परिवार त्यसका लागि राजी भयो । अस्पतालका सञ्चालक डा. यादवले नै उनको अप्रेसन गरिदिए ।

अप्रेसनपछि ३ किलो २ सय ग्रामको स्वस्थ्य शिशु पनि जन्मियो, दिनभरि ठीक रह्यो, साँझ परेपछि शिशुले मैला खाइसकेको छ भन्दै अस्पतालले उसलाई भेन्टिलेटरसहितको एनआइसियूमा राखिदियो । शिशुका पिता आशिकले आफ्नो शिशुको अवस्था राम्रो छैन भने बाहिर लग्छु भन्दै पटक–पटक आग्रह गर्दा समेत चिकित्सक गंगा साह र अस्पतालका व्यवस्थापक विकास चौधरीले शिशुलाई अस्पतालमै सञ्चो हुने दाबी गर्दै शुक्रबार र शनिबार दिउँसोसम्म त्यहँ राखे ।

शिशुको अवस्था झन् बिग्रिँदै गएपछि अभिभावकसँग कुनै छलफल वा सोधपुछ नै नगरी शनिबार दिउँसो ५ बजे अस्पताल व्यवस्थापनले एम्बुलेन्स मगाएर कर्मचारीमार्फत जानकी मन्दिरपछाडि रहेको रामजानकी अस्पतालमा पठाइदियो ।

रामजानकी अस्पतालमा आइतबार, सोमबार र मंगलबार दिउँसोसम्मको उपचारपश्चात् राति ९ बजे शिशुको मृत्यु भयो । अभिभावकले आफ्नो मृतक शिशु माग्दा अस्पतालको १ लाख १० हजार रुपैयाँ बिल तिरेपछि मात्र शिशुलाई दिने अडान राखेपछि विवाद उत्पन्न भएको थियो ।

पीडित आशिकले भने,‘एक त गलत उपचार गरेर शिशुको अवस्था गम्भीर बनाइदिए, फेरि कमिसनको चक्करमा तराई राजधानी अस्पतालका चिकित्सक र व्यवस्थापकले रामजानकी अस्पतालमा पठाइदिए ।’ सुरुमै बच्चाको अवस्था गम्भीर छ भनेर रेफर पुर्जी दिएको भए आफूले धरान, काठमाडौं वा भारतमै राम्रो उपचारका लागि लैजान सक्ने बताउँदै उनले भने, ‘पैसा धुत्ने चक्करमा यो अस्पतालले मेरो बच्चाको ज्यान लिएको छ ।’

पीडित परिवारले आफूहरुको माग सम्बोधन नभए अस्पतालविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएपछि घटनास्थलमा जानकी प्रहरी चौकीका सईको नेतृत्वमा पुगेको प्रहरी टोलीले ५ घण्टाको विवादपछि उपचार खर्च मिनाहा गर्ने सर्तमा दुवै पक्षलाई सहमति गराएर घटनालाई ढाकछोप गरेका छन् ।

तराई राजधानी अस्पतालको यो पहिलो घटना भने होइन । यसअघि पनि आधा दर्जनभन्दा बढी नवजात शिशुको अस्पतालका लापरबााहीका कारण मृत्यु भइसकेको छ । ती घटनामा पनि उपचार खर्च मिनहा र क्षतिपूर्ति दिएर अस्पताल सञ्चालक कारबााहीबाट बचेका छन् ।

यसअघि, धनुषाको नगराइन नगरपालिका वडा नम्बर–२ स्थित नगराइन बस्ने विजय मण्डलकी २५ वर्षीया पत्नी रोशनी मण्डलले पनि आफ्नो सन्तान गुमाएकी थिइन् ।

शिशुको जन्म भएको ८ घण्टापश्चात् मृत्यु भएको जानकारी अस्पतालले परिवारजनलाई गराएको थियो । उनले जन्मेको केही समय पश्चात् शिशुको स्वास्थ्य अवस्था खराब भएको भन्दै अस्पतालले एनआइसियूमा भर्ना गर्नुपर्ने भन्दै आफूहरुलाई जानकारी गराएको बताए ।

मण्डलले भने,‘राति ११ बजे नै आफ्नो बच्चा चिच्याउँदा किन यस्तो भएको हो भनेर डाक्टरको बारेमा सोधीखोजी गरेँ, तर रातभर चिकित्सक आएनन्, स्टाफ नर्सकै भरमा उपचार गर्दा मेरो बच्चाको मृत्यु भयो ।’ बदमासी गर्ने चिकित्सक र हस्पिटलमाथि कारबाही हुनुपर्ने उनले माग गरेका छन् ।

त्यसअघि, गत असोज १३ गते पनि सो अस्पतालमा एक नवजात शिशुको जन्म भएको तेस्रो दिनमै चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको थियो ।

सर्लाहीको बसबरिया गाउँपालिका–६ बस्ने अजयकुमार साहकी पत्नी सरिता साहलाई प्रसव पीडा हुँदा परिवारजनले उनलाई उपचारका लागि तराई राजधानी अस्पतालमा ल्याएका थिए । अस्पतालमा पुग्दा भिडियो एक्सरे गराउन भनिएको र एक्सरे गराएपछि अस्पतालका डा. भगवान सहनीले पानीको मात्रा कम रहेको भन्दै उनलाई तत्कालै भर्ना गर्न दबाब दिएको साहको भनाइ छ ।

शिशु जन्मिएपछि दुई दिनदेखि गम्भीर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार भइरहेको अस्पतालका बालरोग चिकित्सक डा. गंगाप्रसाद यादवले आफूहरुलाई भन्दै आएको अजयले बताए । ‘तर, बुधबार बिहान साढे ११ बजे एक्कासि शिशुको मृत्यु भयो भन्दै अस्पतालले हामीलाई जानकारी दियो,’ उनले भने ।

अस्पतालका कर्मचारीले बिहान साढे १० बजे नै शिशुको मृत्यु भइसकेको भनिरहेको अवस्थामा साढे ११ बजेतिर रेफरको पुर्जी थमाउनु आफैँमा शंकास्पद रहेको पीडित परिवारले बताए ।
यिनीहरु त उदाहरण मात्र हुन् । दर्ताविना सञ्चालनमा रहेको तराई राजधानी अस्पताल स्थापना भएदेखि अहिलेसम्म १ हजार ५ सय भन्दा बढी बिरामीसँग उपचारको नाममा अवैध रुपमा रकम असुल गरिसकेको स्रोतको भनाइ छ ।

उपचार खर्च तिर्न नसक्दा बन्धक

यस अस्पतालले गत असार १४ गते महोत्तरीको धमौरा बस्ने निलम सदालाई उपचार खर्च तिर्न नसक्दा बन्धक बनाएर राखेको थियो । अस्पतालले निलमको नर्मल डेलेभरीपश्चात् पनि उनलाई बच्चासहित पाँच दिन राखेर डिस्चार्ज गरी पाँच दिनमै आमा र बच्चाको उपचार खर्च ७१ हजार रुपैयाँ तिर्न भनेको थियो ।

असार ८ गते बुहारीलाई प्रसूति व्यथा लागेपछि सासू सुजान देवी सदाले प्रादेशिक अस्पताल जनकपुरमा ल्याएकी थिइन् । त्यहाँ कुनै चिकित्सकले कुनै चासो नदेखाएपछि कसैको माध्यमबाट रामानन्दचोकस्थित तराई राजधानी अस्पतालमा ल्याए ।

त्यस अस्पतालले निलमको नर्मल डेलेभरीपश्चात् पनि उनलाई बच्चासहित पाँच दिन राखेर डिस्चार्ज गरे । तर, अस्पतालले पाँच दिनमै आमा र बच्चाको उपचार खर्च ७१ हजार रुपैयाँ तिर्न भन्यो । निलमकी सासू सुजान अस्पतालको बिल हेरेपछि आश्चर्यमा परिन् । उनले विभिन्न सहयोगमार्फत संकलन गरेको ३२ हजार रुपैयाँ अस्पताललाई बुझाएर आफू धेरै गरिब रहेकाले अब हामीलाई घर जान दिनुस् भनेर आग्रह गरिन् । तर, अस्पतालले उनको आग्रहलाई कुनै वास्ता गरेन । पैसा नतिरेसम्म यहाँबाट जान नदिने अडान दोर्होयाउँदै उनीहरुलाई त्यहाँ बन्धक बनायो । पछि जनप्रतिनिधिको रोहबरमा उनीहरु छुटे ।

फार्मेसीमा पनि ब्रह्मलुट

तराई राजधानी हस्पिटलले हस्पिटलको हाताभित्रै सञ्चालन गरेको फार्मेसी पनि दर्ताविना नै सञ्चालन गरी बिरामीसँग अवैध रकम असुल गरिरहेको स्रोतले जनाएको छ ।

अस्पतालभित्र दर्ताविना नै औषधि पसल सञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको बिरामीका आफन्तहरुको गुनासो छ । यस अस्पतालभित्रको फार्मेसीले ६ सय रुपैयाँ पर्ने औषधि १ हजार ५ सयसम्ममा बिक्री गरिरहेको नाम उल्लेख नगर्ने सर्तमा एक व्यक्तिले जानकारी दिए । यस अस्पतालमा बारम्बार कुनै न कुनै घटना घटिरहेको उनको दाबी छ । औषधि पसलमा अनुमतिपत्र अर्थात् फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरिरहेको स्रोतको दाबी छ ।

९० प्रतिशत अस्पताल अवैध छन्, सबै बन्द हुन्छ भने हामी पनि बन्द गर्छौं’

अस्पतालका व्यवस्थापक विकासकुमार सिंहले अस्पताल विनादर्ता सञ्चालित रहेको स्वीकार गरेका छन् । उनले भने,‘जनकपुरमा यो अस्पताल मात्रै नभई ९० प्रतिशतभन्दा बढी अस्पताल अवैध छन् । सम्बन्धित निकायले कारबाही गर्छ भने सबैलाई गरोस, सबै अस्पताल बन्द हुन्छ भने हामी पनि बन्द गर्छौं ।’फरकधार

प्रतिक्रिया





Top