ट्रिपलस्टार इम्प्लोइमेन्ट म्यानपावरका सञ्चालक भीम गुरुङ पक्राउ

न्यूज डेस्क     २०७८ माघ २२, शनिबार ०८:११ बजे मा प्रकासित


काठमाडौं । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट म्यानपावर कम्पनीका संचालक भीम गुरुङ पक्राउ परेका छन् । सरकारले गठन गरेको ‘मार्शल टोली’ ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो ।

युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरी परेपछि गुरुङलाई पक्राउ गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

मंगलबार ठगिएका युवासहित कार्यालयमा पुगेका युट्युबर र सामाजिक अभियन्ता बताउने युवाहरु उनको म्यानपावर कम्पनीमा कुटिएका थिए। कुटपिटबाट मेचिङ नेपाल च्यानलका दिपेशराज पाण्डे, हरिप्रसाद पाठक र अर्का युवा दशरथ भण्डारी घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । यसअघि कुटपिटबाट घाइते भएका व्यक्तिका आफन्त महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पुगे पनि वृत्तले उजुरी लिन नमानेको उनीहरुको गुनासो छ ।

वृत्तका डीएसी प्रमेश विष्टले म्यानपावर सञ्चालकलाई बचाउन खोजेको उनीहरुको आरोप छ । म्यानपावर कम्पनीमा पीडितसँग भिडिओ खिच्न गएका सञ्चारकर्मीहरु आक्रमणमा परेका थिए । पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको छ । ब्यूरोले थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया





Top