काठमाडौं । सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको सेवाको बारेमा उपल्लो निकायकै अधिकारीहरुले गुनासो गरेका छन् । नेपाल टेलिकमको वार्षिकोत्सव अवसर पारेर आयोजित वार्षिकोत्सव कार्यक्रममा मन्त्रीदेखि नियामक निकायका अधिकारीहरुले समेत गुनासो गरेका हुन्।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले कम्पनीका सेवाहरु सुपथ र आकर्षक रहेपनि आम सेवाग्राहीबीच यिनको प्रचार नभएकोतर्फ गुनासो गरे ।
यसका साथै उनले देशका सबै स्थानीय तहमा तीव्र गतिको इन्टरनेट सुविधा पुर्याई मुलुककै आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो र प्रविधिमैत्री सेवा पुर्याउने गुणस्तरीय एफटीटीएच सेवाको विस्तार मागबमोजिम गर्नुपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले ग्राहक संख्या मात्र बढाएर नपुग्ने उल्लेख गर्दै सक्रिय ग्राहकसंख्याको बढोत्तरी र राजश्वमा वृद्धि हुनुपर्ने तर्फ सचेत गराए।
उनले कम्पनीका सेवाहरु गुणस्तरीय हुनुपर्ने भन्दै एकपटक प्रयोग गरिसकेपछि ग्राहकले यसलाई छाड्नै नसक्ने बनाउनुपर्ने सुझाब दिए। सचिव अर्यालले सेवा मुलुकभर विस्तार गर्न कम्पनीलाई बाधा पारेका पक्षहरुको पहिचान गरी चुनौतीको सामना गर्नुपर्ने पनि बताए।
त्यसैगरी कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्राहकको चाहना बमोजिमका गुणस्तरीय सूचना प्रविधिसम्बन्धी सेवाहरु प्रदान गर्नु नेपाल टेलिकमको पहिलो दायित्व भएको बताए । उनले उपभोक्ताको सन्तुष्टिलाई मुख्य आधार मानी सेवा प्रदान गर्नु कम्पनीको प्रमुख चुनौती रहेको पनि उल्लेख गरे।
टेलिकमकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा बैद्यले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति प्रक्रिया सम्पन्न भई नसकेको अवस्थामा निमित प्रबन्ध निर्देशकको रुपमा संस्था प्रमुखको जिम्मेबारी बहन गर्न निकै चुनौतीपूर्ण भएको गुनासो गरेकी थिईन्। उनले सम्पुर्ण नेपाल टेलिकम परिवार तथा सरोकारवालाहरुको सहयोगले हरेक चुनौतीलाई सामना गर्दै संस्थालाई अगाडि बढाउने मेरो हरसम्भव प्रयत्न रहने बताईन्।
प्रतिक्रिया