तोकेको समयमै निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी

मधेशपाटी अनलाइन     २०७८ माघ २३, आईतवार ०९:०८ बजे मा प्रकासित


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरूले सरकारविरुद्ध आन्दोलन गर्ने बताए । पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौंतारी नेपालको २४औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रीमान्हरूले बनाएको वर्तमान सरकारले संविधान र कानुन उल्लंघन गर्ने धृष्टता गरिरहेको आरोप लगाए । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘गठबन्धनकारी सरकार छ । यस्तो सरकार जुन सरकार गठन गर्न पार्लियामेन्टले चिनेन्, देखेन, थाहा पाएन ।

श्रीमान्हरूले बनाए । श्रीमान्हरूले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उलंघन गर्ने धृष्टता गर्दैछ । कानुनलाई उलंघन गर्ने धृष्टता गर्दैछ । संविधानले किटानी गरेको व्यवस्थालाई उलंघन गर्ने धृष्टता गर्दैछ । यसको बारेमा बोल्नु पर्छ कि पर्दैन ? बोल्नुपर्छ । यदि यो स्थानीय तहको निर्वाचन कानुन र संविधानले तय गरेको समयमै हुँदैन भने त्यसको विरुद्धमा देशव्यापी रूपमा जन परिचालन हुन्छ । मुलुकको संविधान र कानुनको रक्षाका लागि यो काम गर्नु पर्दछ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संविधान र कानुनविपरीत काम गरे सञ्चार माध्यामहरूले पनि विरोध गर्नुपर्ने बताए । उहाँले पार्टी निकट सञ्चारकर्मीहरूलाई पार्टीको विचार प्रवाह गर्न र सही सूचना जनतामा पु-याउने काममा केन्द्रित हुन आग्रह गरे ।

प्रतिक्रिया





Top