मधेश प्रदेशमा तीनवटा समिति ५ जनाको मनोनयन दर्ता, एक निर्विरोध

मधेशपाटी अनलाइन     २०७८ माघ २५, मंगलवार ०७:३९ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशमा रिक्त तीनवटा विषयगत समितिका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा सचिवालयमा आज विभिन्न दलहरूले मनोनयन दर्ता गरेका हुन् ।

प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी (लोसपा) र नेकपा (एमाले)ले गठबन्धन गरी मनोनयन दर्ता गराएका छन् । लोसपाबाट प्रह्लाद गिरीले सार्वजनिक लेखा समिति र एमालेबाट कृषि भूमी व्यवस्थापन समितिमा जगतारण देवीले मनोनयन दर्ता गराएका छन् ।

प्राकृतिक स्रोतत तथा वातावरण समितिमा जगत यादवको एकल मनोनयन दर्ता भएपछि उनी र्निविरोध चयन भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

यस्तै, सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका नरेशकुमार यादव र कृषि, भूमी व्यवस्थापनमा नेकपा (एकीकृत समाजवादी)का मदनसेन श्रीवास्तावले मनोनयन दर्ता गराएका छन् ।

 

दुईवटा समितिको सभापति चयनका लागि मनोनयन दर्ताको प्रस्तावबारे भोलि समितिमा छलफल हुने बताइएको छ ।

सचिव यादवकाअनुसार मंगलबार दुवै समितको बैठक डाकिएको छ । बैठकबाट सभापति चयन हुनेछन् ।

समितिमा क्रमश: उमेदवारको प्रस्ताव राखिने छ । प्रस्तावमा समितिको सदस्यले मतदान गर्ने छन् । दुई तिहाइ आएको प्रस्तावको उमेदवार सभापति बन्ने व्यवस्था छ । कुनै एकको प्रस्तावमा दुई तिहाइ आए अन्य प्रस्ताव स्वतः रद्द हुने छन् । दुई तिहाइ नआएको खण्डमा पुनः यही प्रक्रियाअनुसार दलहरू अगाडि बढ्नेछन् ।

माघ १९ गते प्रदेश सभा सचिवालयले रिक्त समितिको सभापति चयन प्रक्रिया अघि बढाएको थियो । प्रदेश सरकार गठन भएको चार वर्ष बितिसक्दा पनि अहिलेसम्म सार्वजनिक लेखा समितिको सभापति चयन हुन सकेको छैन ।

माओवादी केन्द्रबाट एमालेमा लागेपछि रामचन्द्र मण्डलको सांसद पद गुमेको थियो । मण्डल प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति विरेन्द्र सिंह मन्त्री बनेपछि पद रिक्त छ । सो पदका लागि आज मनोनयन दर्ता भएको हो ।

सातवटा समिति रहेकोमा तीनको सभापति जसपाले पाएको छ । अहिले जसपाले अर्थ तथा योजना समितिमा मनिष सुमन, विकास समितिमा शेष अब्दुल कलाम आजाद र प्रदेश मामिला सभापतिमा अशोक यादवलाई चयन गरिसकेको छ । महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापति जैनुल राइन प्रमुख प्रतिपक्षी दल लोसपाका हुन् ।

प्रतिक्रिया





Top